Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नक्कली कागजपत्र प्रकरण : निर्देशकमा नाम आएपछि दीपकप्रसाद आचार्यको स्पष्टिकरण

फिल्मीखबर, काठमाडौं, 2022/08/25
नर्वेमा ‘तिम्रो नजर’ नामक फिल्म खिच्नका लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड, स्ट्याम्प र कार्यकारी प्रमुखको हस्ताक्षर प्रयोग गरेर नर्वेजियन दूतावासमा भिसा आवेदन पेस भएको घटना बाहिर आएपछि फिल्म क्षेत्रमा भूकम्प नै आएको छ । आर्यन सिग्देल, केकी अधिकारीसहित १४ जनाको नाममा ‘ब्लु बर्ड एच डि’ नामक कम्पनीले दूतावासमा भिसा आवेदन दिएको थियो । 
 
छायांकनका लागि भिसा आवेदन परेपछि दूतावासले नेपाल पर्यटन बोर्डसँग सिफारिस सक्कली हो वा नक्कली भनेर जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि फिल्मको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग गरिएको छ । 
 
Deepak Prasad Acharya
 
उक्त घटनामा नाम आएपछि केकीले स्पष्टिकरण दिइसकेकी छन् । उनले आफूले ‘तिम्रो नजर’ नामक फिल्म साइन नगरेको र नक्कली कागजपत्र पेस गरेको विषयमा आफूलाई पूर्व जानकारी नरहेको बताएकी छन् । आर्यनले भने नर्वेमा भिडियो छायांकनका लागि आफूले पासपोर्ट दिएको भए पनि नक्कली कागजपत्र पेस गरेको विषयमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।
 
भिसा आवेदनमा निर्देशकमा दीपकप्रसाद आचार्यको नाम छ । ‘काकु’ उपनामले चिनिने उनी हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार तथा श्रृंखला निर्देशक हुन् । नक्कली कागजपत्र प्रकरणमा आफ्नो नाम आएपछि केकीकै स्टाटस सापटी लिँदै उनले ‘तिम्रो नजर’ नामक फिल्म साइन नगरेको र ‘ब्लु बर्ड एच डि’ कम्पनीसँग कुनै खालको सम्झौता नगरेको स्पष्टिकरण दिएका छन् ।
 
‘मैले त्यस्तो नाम गरेको कुनै कम्पनीसँग कुनै नामको फिल्ममा सम्झौता गरेको छैन र यस किसिमको अवान्छित गतिविधिबारे पूर्व जानकारी पनि थिएन । मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्दछु,’ आचार्यले फेसबुकमा लेखेका छन् ।
 
भिसा आवेदनमा फिल्मको निर्मातामा रोशन पराजुलीको नाम छ । ‘ब्लु बर्ड एच डि’ उनकै कम्पनी हो । उनले यसअघि आर्यन सिग्देल, पल शाह र दुर्गेश थापालाई लिएर ‘बोतलको बिर्को’ नामक म्यूजिक भिडियो निर्माण गरेका थिए । रोशन अहिले भारतमा रहेको आर्यनले बताएका छन् । रोशनले नै आफूसहित १४ जनाको नाममा नर्वेमा छायांकनका लागि भिसा आवेदन दिएका हुन् ।