
फिल्म ‘प्रसाद २’का निर्माता र अभिनेताबीचको विवाद अझै किनारा लागेको छैन । कास्कीको ल्वाङ गाउँमा क्यामेरा ‘अन’ गरेर छायांकनका लागि तयार रहेको अवस्थामा अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड मागेपछि निर्माताले फिल्मको सुटिङ नै रोके । र, फिल्मको सिंगो टिम कास्कीबाट काठमाडौं फर्कियो । त्यसपछि फिल्मको टिम र विपिनबीच कुराकानी र भेटघाट नै भएको छैन ।
विपिन सम्पर्कमा नआएको भन्दै निर्माता सुभाष थापाले फिल्म सम्बन्धि दुई संस्था नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । उनले बिहीवार दुई संस्थामा विपिन कार्कीलाई फिल्म खेल्नका लागि सहमति गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएका हन् । फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन पनि उनले दुई संस्थासँग अनुरोध गरेका छन् ।
निर्माता थापाले बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पनि यसबारेमा जानकारी गराएका छन् । बोर्डमा भने उनले उजुरी दिएका छैनन् । उनले फिल्मीखबरसँग भने, ‘फिल्ममा ठूलो खर्च भइसकेको छ । कास्कीबाट फर्किएपछि विपिनजी हाम्रो सम्पर्कमा आउनुभएको छैन । हामीले फोन गर्दा पनि उठाउनु हुन्न । अनि, मैले बाध्य भएर दुई संस्थामा उजुरी दिएको हुँ ।’
फिल्मको छायांकन स्थगन भएपछि विपिन कार्कीले एक अन्तर्वार्तामा ‘प्रसाद २’को निर्माता सुभाष थापा र निर्देशक सुदर्शन थापा नहटेसम्म फिल्ममा काम नै नगर्ने बताएका थिए । निर्माता थापासँग पारिश्रमिक लफडा र निर्देशक थापासँग वैचारिक मतभेदका कारण विपिनले फिल्ममा काम गर्न आलटाल गरिरहेको स्रोत बताउँछ । अभिनेत्री नम्रता श्रेष्ठ भने फिल्ममा काम गर्न तयार छिन् ।

