.jpg)
बडा दशैंको छेको पारेर आगामी असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको गाउँ’ बोलको रोमान्टिक गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द रचना छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ प्रेमिल र भावुक मुद्रामा प्रस्तुत छन् ।
निर्माण टिमले हिन्दी भर्सनमा पनि गीत रिलिज गरेको छ । ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ गीतमा भारतीय पार्श्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा रुबी फुलारा र सुभाष कालेको शब्द रचना छ । जुबिनको स्वरले मन्त्रमुग्ध बनाउँछ । नेपालीभन्दा हिन्दी भर्सनको यो गीत दर्शकलाई मनपर्ने देखिन्छ ।
‘प्रेमगीत ३’को हिन्दी भर्सनमा चारवटा गीत छन् । केही दिनअघि निर्माण टिमले फिल्मको हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थियो । चारवटै गीतमा भारतका चर्चित गायक-गायिकाहरुले आवाज भरेका छन् । हिन्दीमा डब गरेर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली फिल्म हो । यसअघि सार्वजनिक फिल्मको हिन्दी भर्सनको टिजरलाई दर्शकहरुले मन पराएका छन् ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावाशिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
नेपाली गीत :-
हिन्दी गीत :-

