Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐना झ्यालको पुतली’ मेरो भोगाइको प्रतिविम्ब हो : सुजित बिडारी

फिल्मीखबर, काठमाण्डौ, 2022/08/24
दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ यही भदौ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले एक दिदी र भाईको मर्मस्पर्शी कथा भनेको छ । यो फिल्मलाई निर्देशक बिडारी आफ्नो बाल्यकालको अनुभव र भोगाइको प्रतिविम्ब भन्न रुचाउँछन् ।
 
aaina
 
मंगलबार पत्रकारसँग गफिँदै बिडारीले भने, ‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्म मेरो भोगाइको प्रतिविम्ब हो । फिल्ममा देखिने आमा, दिदी-भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो । मैले जसरी बाल्यकालमा आमा र दिदीको संघर्षलाई हेरेँ त्यसैगरी फिल्ममा पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’
 
फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । फिल्ममा सिरु बिष्टबाहेक प्रायः कलाकार नन्-एक्टर हुन् । निर्देशक तथा कास्टिङ निर्देशकले अडिसन लिएर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् । सहरमा हुर्किएका कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन नसकिने भएपछि सुजितले नयाँ कलाकार लिएर काम गरेका हुन् ।
 
तर, नन्–एक्टरबाट काम गराउन सजिलो नभएको उनको अनुभव छ । ‘नन्–एक्टरसँग काम गर्न यति गाह्रो हुन्छ भन्ने थाहा थिएन । यदि यो थाहा हुन्थ्यो भने सायद काम गर्दिनथेँ होला,’ उनले सुनाए, ‘गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको ठानेको छु ।’
 
अभिनयमा अनुभव बटुलिसकेकी सिरु बिष्टले स्क्रिप्ट पढ्नुअघि फिल्म गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेपछि फिल्म छाड्न नसकेको सुनाइन् । ‘निर्देशकले भन्दा म गर्न सक्दिनँ होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा रैछ भन्ने भयो । त्यसैले नाइँनास्ती गरिनँ,’ उनले भनिन् । फिल्मका लागि घाँस काट्न, दूध दुहुन, गुन्द्री बन्न सिकेको उनको अनुभव छ ।
 
siru bista
 
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्ले निर्माण गरेको यस फिल्ममा प्रबिन स्याङ्बो, रामकृष्ण पोखरेल, आकाश पौडेल र सुजित बिडारी स्वयं निर्माताको रुपमा रहेका छन् । फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा पनि फिल्म छनोट भएको थियो ।