
आगामी छठ पर्वलाई लक्षित गर्दै कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘बुलाकी’ चार महिना पछाडि सरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्माण टिमले फागुन १९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । अब यो मितिमा ‘बुलाकी’को भिडन्त दुई घरेलु फिल्म ‘वर एन्ड वधु’ र ‘परस्त्री’सँग हुनेछ ।
फिल्मको प्रदर्शन मिति परिवर्तनको विषयमा निर्माता टोपेन्द्र विष्ट भन्छन्, ‘देश चुनावमा होमिएको र सचेत नागरिकको हैसियतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौं । चुनावको माहोलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने भएकाले पनि रिलिज सार्न उचित देख्यौं ।’ लक्ष्मण सुनार निर्देशित यो फिल्मले फर्स्टलुक पोस्टरबाटै राम्रो चर्चा बटुलिसकेको छ ।
निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरेको एक पोस्टरमा अभिनेत्री सुरक्षा पन्त कर्णाली लुक्समा फुटेको शीशा अगाडि निराश मुद्रामा उभिएकी छन् । उनको लुक्सले नै ध्यान खिच्छ । यो फिल्ममा नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायतको पनि अभिनय छ ।
स्वर्गीय मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुम क्षेत्रमा भएको हो । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्मित फिल्मले कर्णाली भेगको जनजीवन र जारी प्रथाको कथा बोलेको छ । फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ भने लक्ष्मण सुनार, विराज विष्ट, राजबहादुर साने र निर्मल पौडेलले संयुक्त रुपमा स्क्रिप्ट तयार गरेका हुन् ।

