
टेक पौरखी राईको निर्देशनमा तयार भएको फिल्म ‘मिलन’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी कात्तिक १८ गते (तिहारपछि) लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टर फिल्मका मुख्य अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा रोमान्टिक भावमा प्रस्तुत छन् । यी दुवैले यही फिल्मबाट अभिनय करिअर सुरुवात गर्दैछन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका छ । निर्देशक राईकै लेखन रहेको फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय छ । ‘मिलन’मा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
काठमाडौं र कालिन्चोक क्षेत्रमा छायांकन गरिएको फिल्मको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको फिल्ममा तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ भने मेकअप आर्टिस्टमा डिके हमाल र गीताञ्जली योगी छन् । निर्देशक टेक पौरखी राईले यसअघि ‘मट्टीमाला’ र ‘माया पिरिम’ फिल्मको निर्देशन गरेका थिए ।

