Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरूष’ पोस्टरमा हरिवंशसँग देखिएका अरुण को हुन् ?

फिल्मीखबर, काठमाडौं, 2022/08/23
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको फिल्म ‘महापुरूष’को दोस्रो चरणको पोस्टर सार्वजनिक गर्दै डेब्यू अभिनेता अरुण क्षेत्रीलाई चिनाइएको छ । पोस्टरमा अरुण खुसी भावमा बाइक कुदाउँदै देखिएका छन् । उनको पछाडि हरिवंश छन् । स्पीड ब्रेकरमा बाइकको अगाडिको भाग माथि उठेपछि हरिवंश लड्न खोजेको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ ।
 
अरुणले फिल्ममा विज्ञानको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनी हरिवंशको कान्छा छोराको रुपमा छन् । अडिसनबाट फिल्ममा छनौट भएका उनले भने, ‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र सिंह बानियाँ दाई र प्रदीप भट्टराई दाईसहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा उत्साहित छु ।’
 
mahapurus - movie
 
निर्मातासँगै फिल्मका कलाकार समेत रहेका रविन्द्रले हरिवंश आचार्यसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले अरुणमा आफूले कलाकार देखेको बताए । उनी भन्छन्, ‘उनी मिलनसार र मृदुभाषीका साथै काम पनि राम्रो छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । उनी एउटा राम्रो अभिनेता बन्न सक्नेछन् ।’ अरुण फिल्म सम्बन्धि अध्ययन गरेरै अभिनयमा आएका हुन् ।
 
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा महजोडी र अरुणका अलावा गौरी मल्ल, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाललगायतको अभिनय रहेको छ ।
 
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रुपमा दिपेश खत्री छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । नवराज पराजुलीले लेखेको गीतमा संगीत ऋदम कँडेलको छ । फिल्मको लेखन निर्देशक भट्टराई स्वयंको हो । समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिप्रति फिल्मले व्यंग्य गरेको छ ।