Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ र ‘राधा’ बिहीवार रिलिज होलान् ?

फिल्मीखबर, काठमाण्डौ, 2022/08/23
विदेशी फिल्म नेपालमा जुनसुकै बार पनि विना रोकटोक प्रदर्शन हुँदै आएका छन् । नेपाली फिल्म भने शुक्रवार मात्र चलाउनु पर्ने नियम छ । तर, विदेशी फिल्मलाई यो नियमले छुँदैन । विदेशी फिल्मलाई रोक्ने नीति नहुँदा चलचित्र विकास बोर्ड पनि निरीह छ । जसले गर्दा नेपालमा विदेशी फिल्मको थिचोमिचो दिनानुदिन बढ्दो छ भने नेपाली फिल्म पटक-पटक मारमा पर्दै आएका छन् । 
 
यही बिहीवारबाट हिन्दी फिल्म ‘लाइगर’ विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा पनि यो फिल्म बिहीवार नै प्रदर्शन हुनेछ । तर, शुक्रवारबाट दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शन हुँदैछन् । एक दिनअघि विदेशी फिल्म आउँदा दुई नेपाली फिल्मलाई मार पर्ने निश्चित छ । विदेशी फिल्मलाई लगाम लगाउने नीति नभएकाले बोर्डले ‘लाइगर’लाई रोक्न नसक्ने भन्दै हात उठाइसकेको छ । 
 
prakash and radha
 
‘लाइगर’लाई बिहीवार रिलिज गर्नबाट रोक्न असम्भव भएपछि बोर्ड अध्यक्ष भुवन केसीले शुक्रवार रिलिज हुने ‘प्रकाश’ र ‘राधा’का निर्मातालाई बिहीवार फिल्म रिलिज गर्न फोनमार्फत आग्रह गरेका छन् । तर, ‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापाले अहिले चलिरहेका तीन नेपाली फिल्मको एक दिन खान बिहीवार रिलिज गर्न नसक्ने बताएका छन् । फिल्म शुक्रवार नै लाग्ने उनले बताए ।
 
उनले भने, ‘नीति नहुँदा बोर्डले विदेशी फिल्म रोक्न सक्दैन । त्यसैले बोर्डले हामीलाई बिहीवार नै रिलिज गर्न भनेको होला । तर, अहिले चलिरहेका तीन नेपाली फिल्मको एक दिन खान हामी किन बिहीवार सर्ने ? अनि, महिनौंदेखि भदौ १० मा रिलिज हुँदैछ भनेर भनिरहेका छौं । अब एक दिन अगाडि आउने भयो भनेर फेरि कसरी भन्ने ? त्यसैले फिल्म शुक्रवारअघि लगाउन सकिँदैन ।’
 
बिहीवार फिल्म लगाउँदा आफ्नै दाजु-भाईको जग्गा मिचेको जस्तो देखिने सुवर्णको भनाई छ । ‘यो हप्ता ‘कृष्ण लीला’, ‘प्रेमगन्ज’ र ‘माइकल अधिकारी’को हो । हामी किन ती फिल्मको एक दिन भए पनि खान जाने ?,’ उनले थपे, ‘चलचित्र विकास बोर्डले ‘लाइगर’ रोक्न नसक्ने रे अनि हामीलाई चाहिँ जुध्न जाउँ भनेर हुन्छ । हामी भावुक भएर बिहीवार सर्छौं भनेर बोर्डले यस्तो भनेको होला ।’
 
भुवन केसीको फोनपछि ‘प्रकाश’का निर्माता र वितरक भने शुक्रवार नै फिल्म प्रदर्शन गर्ने या एक दिन अगाडि सर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । निर्देशक दिनेश राउतले फिल्मीखबरलाई भने, ‘भुवन दाईको आग्रहलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिहीवार सर्ने वा शुक्रवार नै आउने भन्ने विषयमा सम्भवतः बेलुकासम्म निर्णय होला । अहिले हामी छलफलमा छौं ।’