जुम्लामा छायांकन भएको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’को छायांकन भएकै गाउँमा विश्व प्रिमियर गरिएको छ । जुम्लाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा आइतवार साँझ फिल्मको प्रिमियर भएको हो । प्रिमियरमा सहभागी हुन काठमाडौंबाट जुम्ला पुगेका प्रदीप र लेखक विकास सुवेदीलाई स्थानीयहरुले सम्झनलायक स्वागत गरे ।
.jpeg)
जुम्लामा एउटै सिनेमा हल नभएकाले उक्त गाँउमा प्रोजेक्टरबाट फिल्म देखाइएको थियो । त्यस ठाउँमा बिजुलीको समेत सुविधा नभएका कारण निर्माण टिमले स्थानीयहरुलाई फिल्म देखाउन जेनेरेटर समेत आफैंले लिएर गएको थियो । फिल्म हेर्नका लागि लगभग सिंगो जुम्ला नै उर्लिएको लेखक सुवेदीले जानकारी दिए । ४५ दिनसम्म तिर्खु गाँउमा फिल्मको छायांकन भएको थियो ।
.jpg)
प्रिमियरपछि जुम्लाबासीले फिल्मको खुलेरै प्रशंसा गरे । उनीहरुले आफ्नै भोगाई फिल्ममा हेर्न पाएकोमा खुसी व्यक्त गरेको लेखक सुवेदीले बताए । प्रिमियरपछि एक स्थानियले फिल्म हेर्दै गर्दा आफ्नै भाइ-छोरा, छोरी, आमालाई नै पर्दामा देखेको अनुभुति भएको प्रतिक्रिया दिए । आफूहरुले भोग्दै आएको वर्गीय विभेदलाई पनि फिल्ममा देखाएकोमा स्थानीयले निर्माण टिमलाई धन्यवाद दिए ।
.jpg)
स्थानियको प्रतिक्रियापछि अभिनेता प्रदीप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्नो लागि कहिल्यै विर्सन नसक्ने क्षण बनेका बताए । स्थानीयको स्वागत र मायाले पुकलित बनेका प्रदीप भन्छन्, ‘मैले सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानीयबाट पाउँदा ज्यादै खुसी छु । स्थानीयले हाम्रै भाई छोरा जस्तो देखिएका छौं भनेर प्रतिक्रिया दिँदा मैले गरेको पात्रले सार्थकता पाएको महसुस भएको छ ।’
.jpg)
भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा निर्माण भएको फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

