अभिनेता कार्म शाक्यले युरोप मुलकी एनी सोफीसँग विवाह बन्धनमा बाँधिएको एक वर्षपछि शनिवार काठमाडौंमा भव्य बिहे पार्टी दिए । उनीहरुलाई वैवाहिक जीवनको शुभकामना दिन हाँस्य कलाकार हरिवंश आचार्य, काठमाडौंका मेयर बालेन शाह, अभिनेत्री नम्रता श्रेष्ठ, दीया मास्के, सृष्टि श्रेष्ठ, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, गायिका इन्दिरा जोशीलगायत पार्टीमा पुगेका थिए ।
पार्टीको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्मले सोफीलाई आफ्नो श्रीमती बनाउन पाएकोमा खुसी व्यक्त गरे । ‘मेरो विवाह गर्ने उमेर पनि भइसकेको थियो । परिवारबाट पनि दबाब थियो,’ कार्मले भने, ‘सोफीसँग जब म प्रेममा थिएँ र हामीबीच सबै कुरा मिलेको देखेँ अनि विवाह गर्ने निर्णयमा पुगेको थिएँ । मैले सोफी जस्तो राम्रो व्यक्ति अरु पाउन सक्दिनँ भन्ने पनि महसुस भयो ।’

सोफीको प्रेममा डुबेपछि उनले फ्रेन्च भाषा बोल्नका लागि क्लास नै लिएका रहेछन् । उनी भन्छन्, ‘मैले फ्रेन्च सिकेको सोफीको लागि नै हो । यद्यपि, मैले कलेजमा हुँदा नै फ्रेन्च क्लासहरु भने लिएको थिएँ । सोफीलाई भेट्नुअघि मेरो फ्रेन्च खासै राम्रो थिएन । सोफीलाई भेटेपछि फ्रेन्च सिक्नका लागि क्लास लिन थालेँ । अहिले पनि सिकिरहेको छु । हेरौं कति राम्रोसँग एडप्ट गर्न सक्छु ।’
पेशाले एक रकब्यान्डको गायिका रहेकी सोफीले करीब ५ वर्ष अगाडि पेरिसमा कार्मसँग भेट भएको स्मरण गरिन् । ‘पेरिसमा एक फेस्टिभलको क्रममा हाम्रो भेट भएको थियो । म एक रकब्यान्डको गायिका हुँ । मेरो र उहाँको साथीहरुबीच राम्रो सम्बन्ध छ । त्यसैक्रममा हामीबीच भेट भयो,’ उनले भनिन् । सन् २०१९ मा कार्मलाई आफ्नो परिवारसँग भेट गराएको पनि सोफीले बताइन् ।
सोफीले कार्मको धेरैजसो फिल्महरु पनि हेरेकी रहेछिन् । ‘लुट’, ‘शेरबहादुर’, ‘लुकामारी’, ‘कठपुतली’ लगायतका फिल्म मन पर्ने उनी बताउँछन् । कार्मले सोफीसँग फिल्म ‘कठपुतली’को स्क्रिप्टबारे त छलफल नै गरेका रहेछन् । नेपाली भाषा बोल्न सिकिरहेकी सोफीले आफूहरुबीच बढीजसो अंग्रेजीमै कुराकानी हुने बताउँछिन् । उनले नेवारी परिकार आफूलाई मनपर्ने पनि बताएकी छन् ।

