Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनेश राउतले किन बाटो फेरे ?

फिल्मीखबर, काठमाडौं, 2022/08/21
हरेक निर्देशकको आ-आफ्नो ‘कम्फर्ट जोन’ हुन्छ । कसैले लभस्टोरी कथालाई भरपुर न्याय गर्न सक्छन् भने कसैले एक्सन फिल्म राम्रो बनाउन सक्छन् । दिनेश राउतको ‘कम्फर्ट जोन’ लभस्टोरी हो । सहायक निर्देशकको रुपमा काम गरेको पहिलो ‘मेरो एउटा साथी छ’ होस् वा निर्देशकको रुपमा स्थापित गरेका ‘आइ एम सरी, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ फिल्म हुन्, सबै लभस्टोरी नै थिए । 
 
तर, फिल्म ‘प्रसाद’बाट उनले आफ्नो ‘कम्फर्ट जोन’ त्यागे । अझ भनौं, आफूले हिँडिरहेको बाटो फेरे । ‘प्रसाद’मा प्रेमकथा नभएको होइन तर, फिल्मले उठाएको मूल कथा अलग मुद्धामा थियो । यद्यपि, यसमा पनि उनले आफूलाई प्रमाणित गरे । यो फिल्मपछि उनीमाथि चुनौतीको चाङ जति ठूलो छ, अपेक्षा त्योभन्दा कम छैन । उनलाई अब ‘प्रसाद’भन्दा कमजोर फिल्म बनाउन छुट छैन । 
 
dinesh raut
 
‘प्रसाद’पछि दुई वर्ष ब्रेक लिएका दिनेशले यही भदौ १० गते फिल्म ‘प्रकाश’ तीजको कोशेली स्वरुप दर्शकलाई सुम्पिँदैछन् । यो फिल्म पनि उनको ‘कम्फर्ट जोन’ बाहिरको हो । जुम्लाको कथालाई उनले दृश्यभाषामा उतारेका छन् । पोस्टर, ट्रेलर र गीतहरु हेर्दा ‘प्रकाश’मा उनले उठाएको कथावस्तु संवेदनशिल देखिन्छ । चकलेटी हिरो प्रदीप खड्कालाई उनले जुम्लेली बनाएका छन् । 
 
फिक्सन लभस्टोरी भन्न रुचाउने दिनेश राउतले किन आफ्नो ‘कम्फर्ट जोन’ छाड्दैछन् ? यसबारेमा उनी भन्छन्, ‘कुनै पनि स्टोरी मनबाट छोयो भने म गर्छु । इमोसनल स्टोरी भन्न मलाई अलि सहज महसुस हुन्छ । हिजो गरेको फिल्ममा केटा-केटीको फिक्सन स्टोरी थियो होला । ‘प्रकाश’मा आमा-छोराको कथा छ । त्यसैले कहीँ न कहीँ ह्युमन इमोसनलको स्टोरीमै काम गरिरहेको छु ।’ 
 
आज केही फरक फिल्म बनाउँदैमा भविष्यमा लभस्टोरी नै नगर्ने भन्ने नभएको दिनेशको भनाई छ । ‘भोलीका दिन लभस्टोरी पनि गर्छु । तर, अहिले यसमै मज्जा आइरहेको छ,’ उनले भने । हरेक फिल्म बनाउँदा आफूबाट भएका कमी कमजोरी महसुस हुने र त्यसलाई सुधार्न मिहेनत गर्ने क्रम नरोकिएको उनी बताउँछन् । तर, ‘प्रसाद’भन्दा ‘प्रकाश’ केही राम्रो बनेको उनको ठोकुवा छ ।