Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सम्हालिन्छ कहिले मन’को मेकिङ इतिहासकै उत्कृष्ट : सुदर्शन थापा

फिल्मीखबर, काठमाडौं, 2022/08/20
निर्देशक सुदर्शन थापालाई प्रेम सिकाउने पाठशाला भनिन्छ । उनले आफ्नो फिल्ममा प्रेमको नयाँ दुनियाँ बनाउँछन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका रोमान्टिक फिल्म यसका उदाहरण हुन् । उनै, सुदर्शन निर्देशित अर्को लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो निकै ठूलो बजेटमा निर्माण भएको फिल्म हो । 
 
यो फिल्म प्रदर्शन भएपछि नेपाली फिल्म नयाँ कोर्समा अघि बढ्ने उनको विश्वास छ । सुदर्शन भन्छन्, ‘फिल्म भनेको निर्देशकको भिजुअल इम्याजिनेशन हो । यसमा कन्टेन्ट, लोकेशन, छायांकन, साउन्ड सबै पक्ष पर्छ । हामीले कन्टेन्ट मात्रै भनिरहँदा मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको अर्थ रहँदैन । यस फिल्ममा सबै पक्ष सुदृढ छ र भदौ १७ पछि नेपाली फिल्ममा नयाँ युग सुरु हुन्छ ।’
 
sudarshan thapa
 
‘सम्हालिन्छ कहिले मन’ नेपाली फिल्म मेकिङमा कोशेढुंगा सावित हुने उनको ढोकुवा छ । फिल्ममा मेकअपम्यान, प्राविधिकदेखि कलाकारसम्म सबैले अलग ढंगले काम गरेको र नेपाली फिल्म इतिहासको अहिलेसम्मकै उत्कृष्ट मेकिङ फिल्मको मुख्य विशेषता रहेको सुदर्शनको कथन छ । यस फिल्मले बलिउडका ए ग्रेडका फिल्महरुसँग प्रतिस्पर्धा गर्न सक्ने पनि उनले दाबी गरेका छन् । 
 
नेपाली फिल्म मेकिङ पक्षमा चुकेकाले पनि दर्शकको साथ पाउन नसकेको उनको बुझाई छ । ‘अहिलेका मल्टीप्लेक्स पहिलेका सिंगल थिएटरको दाँजोमा स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले मेकिङ गर्नुपर्छ,’ सुदर्शन भन्छन्, ‘नेपाल र विदेशमा रहेका नेपालीभाषी, जो विगतमा नेपाली फिल्म हेर्न आउँदैन थिए, यसपटक भने ‘सम्हालिन्छ कहिले मन’ हेर्न आउँछन् ।’
 
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म रहेकाले यसको प्रस्तुति दर्शकलाई फरक लाग्ने सुदर्शन बताउँछन् । ‘फिल्म भनेको स्टोरी मात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन हो । त्यसैले यस फिल्मको प्रेजेन्टेशनलाई दर्शकले निकै फरक पाउनुहुन्छ । फिल्मलाई स्तरीय बनाउन हामीले मेकिङमा अति नै मिहेनत गरेका छौं । कलाकारको मिहेनत पनि प्रशंसायोग्य छ,’ उनले भने ।
 
एवि इन्टरनेशनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य मुख्य भूमिकामा छन् । महेश दवाडीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना/अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल/अंकित गौतम छन् ।