.jpg)
कोरियोग्राफर तथा फिल्म निर्देशक रेनशा वान्तवा राई आमा बनेकी छन् । उनले शुक्रवार विहान काठमाडौंको नर्भिक अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका श्रीमान् प्रज्वल राणाले जानकारी दिए । रेनशा र दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । तथापि, रेनशा केही दिन नर्भिक अस्पतालमा नै बस्नेछिन् ।
२०७६ सालमा रेनशा र प्रज्वलले एक दशक लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । प्रज्वलले निर्माण गरेको फिल्म ‘मेरो एउटा साथी छ’बाट कोरियोग्राफरको रुपमा करिअर सुरु गरेकी रेनशाले निर्देशनमा डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’लाई पनि प्रज्वलले निर्माण गरेका हुन् । रेनशाले निर्देशन र प्रज्वलले निर्माण गरेको फिल्म ‘आइ एम ट्वान्टिवान’ प्रदर्शनको पखाईमा छ ।
रेनशाले ‘कबड्डी २’, ‘कृ’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर २’, ‘प्रेमगीत २’, ‘वीर विक्रम’, ‘लुकामारी’, ‘होमवर्क’, ‘के म तिम्रो होइन र’ लगायत दर्जनौं नेपाली फिल्मको गीतमा कोरियोग्राफी गरेकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा राम्रो सम्भावना देखाएकी उनी डान्सिङ स्टार्स नेपालको निर्णायक समेत हुन् । रेनशाले श्रीमानसँग मिलेर नयाँ वानेश्वरमा ‘वान् सिनेमाज्’ चलाउँदै आएकी छन् ।

