Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘भगवत् गीता’ घोषणा : नयाँ वर्षमा रिलिज, टिजरमा खुसी र भावुक सुहाना

फिल्मीखबर, काठमाण्डौ, 2022/08/19
suhana thapa
 
झरना थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भगवत् गीता’को थिम टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा फिल्मको प्रदर्शन मिति २०८० सालको बैशाख १ गतेलाई उल्लेख छ । २ मिनेट २३ सेकेन्डको टिजरमा अभिनेत्री सुहाना थापा मात्र फिचर छिन् । टिजर जानकी मन्दिरमा खिचिएको हो ।
 
सुहाना मन्दिरबाट शीरमा आगो बलिरहेको मट्का बोकेर खुसी मुद्रामा कुद्दै बाहिर निस्किएकी छन् । तर, बाहिर निस्किएपछि उनी अचानक भावुक हुँदै गहभरी हुन्छिन् । उनको यी दुई भिन्न भावले फिल्मप्रति कौतुहलता जगाउँछ । सुहानाको अनुहारको वर्ण हेर्दा उनले निर्वाह गर्ने चरित्रले मधेशी समुदायको प्रतिनिधित्व गर्ने आँकलन गर्न सकिन्छ । उनले लगाएको पहिरन प्राचीन शैलीको छ ।
 
निर्देशक थापाले ‘भगवत् गीता’लाई ‘ए मेरो हजुर २’ प्रदर्शनपछि नै निर्माण गर्न लागेकी थिइन् । तर, वितरक र दर्शकहरुको माग अनुरुप उनले ‘ए मेरो हजुर’कै सिरिजलाई अगाडि बढाइन् । ‘भगवत् गीता’मा अहिलेसम्म झरना पुत्रि सुहाना मात्र फाइनल छिन् । उनको अपोजिटका लागि निर्माण टिमले अभिनेताको खोजी गरिरहेको छ । यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । 
 
सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहने फिल्मको यतिबेला निर्देशक झरना थापा स्क्रिप्टलाई फाइनल गर्नमा व्यस्त छिन् । दशैंअघि फिल्मको छायांकन हुने सम्भावना न्यून छ । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मको छायांकन जनकपुर क्षेत्रमा हुने बताइएको छ ।