Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा त्रिपक्षीय भिडन्त

फिल्मीखबर, काठमाडौं, 2022/08/19
नेपाली फिल्मबीच भिडन्त परम्परा नै बनेको छ । विदेशी फिल्मदेखि भाग्ने तर नेपाली फिल्मसँग भिड्न मुटु देखाउने निर्माताहरुका कारण वर्षेनी कयैन् फिल्मले हलबाट लगानीको एक तिहाईबाट पनि उठाउन सकेका छैनन् । फिल्म जुध्दा दर्शक र हल दुवै बाँडिन्छ । तर, रिलिजअघि निर्मातालाई यसको कुनै पीर हुँदैन । जब फिल्म डुब्छ अनि फिल्म क्षेत्रलाई धारे हात लगाउँदै बस्छन् ।
 
एउटै मितिमा फिल्म जुध्दा निर्माता मालामाल भएका उदाहरण नेपाली फिल्मको ६० वर्षे इतिहासमा सम्भवतः सिला खोज्दा पनि भेटिन्न । तर पनि निर्माताहरु आफ्नै देशको फिल्मसँग जुध्न बाघको मुटु देखाउन छाडेका छैनन् । आज शुक्रवारबाट हलमा लागेका नेपाली फिल्मको ताँती हेर्ने हो भने निर्मातालाई लगानी डुब्ने डर देखिन्न । डर हुन्थ्यो भने तीन फिल्म एकसाथ प्रदर्शन हुँदैन थिए । 
 
maikal adhikari, krishna leela and premganj
 
यो हप्ताका लागि शुक्रवारबाट तीन फिल्म ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले प्रदर्शन थालनी गरेका छन् । अघिल्लो हप्ताका दुई ठूला बलिउड फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ टाँट पल्टिएपछि यी तीन फिल्मलाई राहत त मिलेको छ तर, दर्शक बाँडिने पक्का छ । सिंगल थिएटर र मल्टीप्लेक्समा शोज पनि बाँडिएको छ । दर्शकहरु कुन फिल्म हेर्ने, अन्योलमा छन् ।
 
तीनवटै फिल्मबाट फिल्म क्षेत्रले ठूलो आशा गरेको छ । किनभने, ‘कबड्डी ४’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न सकेका छैनन् । जसले गर्दा फिल्म क्षेत्रमा एकखालको नैराश्यता पैदा भएको छ । तीनवटै फिल्ममा नाम चलेका कलाकारहरुको अभिनय रहेकाले हलमा देखिएको शून्यतालाई तोड्न सक्ने विश्वास फिल्मकर्मीहरुमा छ । तर, भिडन्तको असर तीनै फिल्मलाई पर्नेमा दुईमत छैन । 
 
दीपक वली निर्देशित ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । फिल्मले अटिजम पीडित युवकको जीवनमा आउने उतार-चढावको कथा भन्छ । सेरोगेसीको कथामा बनेको रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’मा भने सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनय छ । त्यस्तै, परिक्षेद सेनको निर्देशनमा बनेको ‘प्रेमगञ्ज’मा बेनिशा हमाल र तेज गिरीको मुख्य भूमिका छ ।