
फिल्ममा निर्देशकभन्दा पहिला कलाकार फाइनल भएका उदाहरण सम्भवतः संसारमै छैनन् । किनकि, फिल्मको कुन चरित्रमा को सुहाउँछ भन्ने निर्णय निर्देशकले गर्ने हो । तर, कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेझैं केही नेपाली फिल्ममा निर्माताले कलाकारसँग सम्झौता गरेपछि मात्र निर्देशक रोज्ने गर्छन् । यो गाईजात्रे परम्परालाई फिल्म ‘सायरा’का निर्माताले पनि निरन्तरता दिएका छन् ।
दुई हप्ता अगाडि निर्माता रघु परियारले फिल्ममा अभिनेता आर्यन सिग्देललाई अनुबन्ध गरेका थिए । आर्यन फिल्ममा भित्रँदासम्म निर्देशकको टुंगो लागेको थिएन । उनी फाइनल भएपछि निर्माता परियारले निर्देशकसँग सम्झौता गरेका छन् । उनले निर्देशक पनि बलिउडबाट रोजेका छन् । बलिउड निर्देशक विशाल देसाईसँग निर्माता परियारले बिहीवार मुम्बईमा कागजी सम्झौता गरेका हुन् ।
निर्देशक फाइनल गर्दै निर्माता परियारले आउँदो दशैंबाट फिल्मको छायांकन सुरु हुने जानकारी दिए । उनले भने, ‘हाम्रो फिल्म निर्देशन गर्न विशालजी तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको व्यवहारले निकै खुसी छौं ।’ निर्देशक देसाईले पनि नेपाली फिल्म निर्देशन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् ।
देसाईले नेपाल र भारतको सम्बन्ध प्रगाढ रहनुको साथै सांस्कृतिक रुपमा पनि दुई देश नजिक रहेको बताएका छन् । अहिलेसम्म आफू नेपाल नआएता पनि नेपाली जीवन शैलीसँग परिचित रहेको उनको भनाई छ । ‘वीरगति र ‘ढोलकी’ गरी दुई फिल्मको निर्देशन गरिसकेका देसाईसँग ‘कामिनी दामिनी’ नामक टीभी सिरियल निर्देशन गरेको पनि अनुभव छ । उनी कलाकार पनि हुन् ।
सोसल ड्रामा र लभस्टोरी कथामा निर्माण हुने फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । निर्माता परियारले फिल्मको अन्य कास्ट एण्ड क्रियूको बारेमा चाँडै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । फिल्मको कथावस्तु अनुसार नै अष्ट्रेलियामा छायांकन गर्न लागिएको उनको भनाई छ । अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा फिल्म खिचिनेछ ।

