Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’ प्रिमियर : रेखाका लागि सृष्टि ‘सुपरस्टार’

फिल्मीखबर, काठमाडौं, 2022/08/18
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको सेरोगेसी (भाडाको कोख) को कथामा निर्मित फिल्म ‘माइकल अधिकारी’ले बुधवार गोपीकृष्ण मुभिजमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । राजनीतिज्ञ, फिल्मकर्मी, मिडियाकर्मीहरुको ठूलो संख्यामा उपस्थिति रहेको प्रिमियरमा प्रायःले फिल्मले उठान गरेको कथावस्तु र कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए । 
 
rekha thapa and shresthi shrestha
 
लामो समयपछि नेपाली फिल्म हेरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नितान्त नयाँ कथावस्तुमा बनेको फिल्मले मन छाएको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्मले समाजलाई सन्देशसँगै नेपाली फिल्म क्षेत्रमा नयाँ आयाम दिनेमा विश्वस्त छु । फिल्मले उठाएको कथावस्तु एकदमै प्रशंसनीय छ । कलाकारको अभिनय पनि राम्रो लाग्यो । समग्रमा फिल्म राम्रो बनेको छ ।’ 
 
सञ्चारकर्मबाट विश्राम लिएर राजनीतिमा होमिएका रवि लामिछानेले पनि फिल्म रमाइलो लागेको बताए । ‘माइकल अधिकारी’का निर्माता उद्दव पौडेलका ज्वाईं समेत रहेका उनले भने, ‘हेर्दा रमाइलो र इमोसनल छ । कलाकारको रुपमा सौगात मल्ल मलाई औधी मन पर्छ । अभिनयको पार्ट राम्रो छ । सृष्टि श्रेष्ठको अभिनय यसअघि हेरेको थिइनँ । यसमा उहाँको अभिनय राम्रो लाग्यो ।’ 
 
त्यस्तै, गायक आनन्द कार्कीले पनि फिल्म राम्रो बनेको र कथावस्तुले मन छोएको बताए । स्त्रीरोग विशेषज्ञ, निर्माता तथा गीतकार डा. भोला रिजालले यसप्रकारको गहन विषयवस्तुमा फिल्म बनाउने आँट कमै मात्र निर्माताले गर्ने भन्दै प्रशंसा गरे । उनले भने, ‘सेरोगेसी भाडाको कोखको विषयलाई फिल्मले निकै राम्रो तरिकाले प्रस्तुत गरेको छ । कलाकारहरुको अभिनय पनि सबल छ ।’ 
 
rekha thapa and shresthi shrestha
 
अभिनेत्री रेखा थापाले भने फिल्म हेरेपछि आफू सृष्टि श्रेष्ठको ठूलो फ्यान भएको बताइन् । ‘सृष्टि मिस नेपाल हुँदा नै एकदमै मन परेको थियो । यो मान्छे फिल्ममा आए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । लकडाउनको समयमा मैले प्रियंका कार्की र सृष्टिको एउटा सिरिज हेरेको थिएँ, त्यसपछि म सृष्टिको फ्यान भएको थिएँ । ‘माइकल अधिकारी’ हेरेपछि म सृष्टिको झन् ठूलो फ्यान भएँ,’ उनले भनिन् । 
 
फिल्म हेर्दा सृष्टिको अभिनयले आफू तीनपटक रोएको बताउँदै रेखाले सृष्टिलाई सुपरस्टारको ट्याग समेत दिइन् । उनले सौगात मल्लको पनि आफू फ्यान रहेको बताइन् । उनले फिल्मको कथावस्तुको प्रशंसा गर्दै अगाडि भनिन्, ‘फिल्मको विषयवस्तु एकदमै राम्रो छ । फिल्म हेरेपछि समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्छ । हरेक सन्तान र बुबा-आमाले हेर्नुपर्ने फिल्म बनेको छ ।’ 
 
 
फिल्ममा मुख्य भूमिकामा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठले प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित रहेको बताए । फिल्ममा उनीहरुले पैसाका लागि विदेशी दाम्पतिलाई सन्तानको सुःख दिन कोख भाडामा दिन तयार दाम्पतिको भूमिकामा अभिनय गरेका छन् । रञ्जित रौनियार निर्देशित फिल्ममा एनि कुँवर, अशान्त शर्मा, हेमन्त बुढाथोकी, लुनिभा तुलाधरलगायतको पनि अभिनय छ ।