
श्रीकृष्ण जन्मअष्टमीको दिन पारेर शुक्रवारबाट फिल्म ‘कृष्ण लीला’ प्रदर्शनमा आउँदैछ । ‘ए मेरो हजुर’ र ‘कुनै दिन’ बोलका दुई गीतले फिल्मको राम्रो हाइप चुल्याएको छ । यसको फाइदा फिल्मको व्यापारमा पर्ने अपेक्षा निर्माण पक्षको छ । अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आउने उतार-चढावमा केन्द्रित रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्री प्रमुख भूमिकामा छन् ।
प्रदर्शनको पूर्वसन्ध्यामा निर्माण टिमले फिल्मको थिम बोल्ने तीनवटा आकर्षक पोस्टरहरु सार्वजनिक गरेको छ । जसमा पुष्प र श्रद्धा भगवान श्रीकृष्ण र राधाको रुपमा प्रस्तुत छन् । श्रीकृष्ण र राधालाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ । फिल्ममा कृष्ण (पुष्प) र लीला (श्रद्धा) को प्रेम पनि श्रीकृष्ण र राधाको जस्तै रहेको बुझाउन निर्माण टिमले यी पोस्टरहरु सार्वजनिक गरेको हो ।
बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको यस फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । दीपक वलीले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा पुष्पले अटिजम चरित्र निभाएका छन् । यो चरित्रमा अब्बल अभिनय देखाउनु पर्ने चुनौती उनीमाथि छ । ट्रेलर हेर्दा उनले ‘मंगलम’पछि पुनः आफूलाई अभिनयमा प्रमाणित गर्ने देखिन्छ । पुष्प फिल्मलाई लिएर आशावादी छन् ।

