नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक अभिनेत्री भनिन्छ । उनले कुनै पनि विषयमा राख्ने विचारहरु गहन र सोचनीय हुन्छन् । तर, विचार अभिव्यक्त गर्ने मामलामा उनी जति गहन रुपमा प्रस्तुत हुन्छिन्, फिल्म छनोट गर्न त्यति गम्भीर हुँदिनन् । स्क्रिप्ट, चरित्र र टिम चित्त नबुझे पनि उनी राम्रो पैसा पाए निर्धक्क काम गर्छिन् । यसको तात्तातो उदाहरण फिल्म ‘सिल्ली फो’ हो ।
गत असार ३१ गते यो फिल्म प्रदर्शनमा आएको थियो । फिल्ममा केकी हिरोइन बन्न संघर्षरत युवतीको भूमिकामा प्रस्तुत थिइन् । सामान्य प्रचार-प्रसार गरेर प्रदर्शनमा उत्रिएको फिल्म हलमा एक दिन पनि टिकेन । फिल्ममा केकीको काम कस्तो थियो, कसैलाई थाहै भएन । हुनत, केकीलाई यो फिल्म चल्छ भन्ने विश्वास पनि थिएन । त्यसैले प्रचार-प्रसारमा उनले खासै वास्ता गरेकी थिइनन् ।
.jpg)
तर, केकीलाई अब आफ्नो फिल्म हलमा लागेको पनि थियो र भन्ने अवस्था आउन थालेछ, कठै ! ‘कमेडी क्लब’मा अभिनेता मुकुन भुषालसँग फिल्म ‘झिंगेदाउ’को प्रचार गर्न पुगेकी उनीमाथि रोस्ट गर्ने क्रममा साजन श्रेष्ठले ‘सिल्ली फो’ रिलिजको प्रशंग कोट्याए । जसमा केकीले ‘फिल्म आएको पनि थियो र ? मैले थाहै पाइनँ’ भन्दै आफ्नै फिल्मको मजाक उडाइन् । जुन अस्वभाविक लाग्छ ।
साजनले नाम जस्तै फिल्म हेर्ने जम्मा चार जना थिए भनेर व्यंग्य गर्दा पनि केकीले हाँसेर आनन्द लिइन् । उनले आफूले पनि हलमा लुकेर फिल्म हेरेको बताइन् । केकी जस्तो बौद्धिक अभिनेत्रीले गर्वसाथ आफ्नो फिल्म लागेकै थाहा भएन र आफूले लुकेर हेरेको भन्नु उनले आफ्नो कर्मप्रति गरेको अपमान हो । कुनै पनि काम गरेपछि त्यसलाई सम्मान गर्नुपर्छ, केकीले यो बुझ्नु पर्ने कुरा हो ।
फिल्म चले खुशीले उफ्रिने अनि नचले पन्छिने कलाकारहरुको पुरानै बानी हो । ‘सिल्ली फो’ बक्सअफिसमा सफल भइदिएको भए सबैभन्दा पहिला क्रेडिट लिन केकी नै अगाडि सर्ने थिइन् । तर, फिल्म चलेन, त्यसको जस लिन पनि अगाडि सरिनन् । ठिक छ फिल्म चलेन तर आफूले गरेको कामप्रति त सम्मान गर्नुपर्छ । पैसा लिएर आफैंले काम गरेको फिल्मको अपमान गर्नु राम्रो होइन ।

