शुक्रवारबाट प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ डुब्ने संघारमा छन् । दिनप्रतिदिन यी दुई फिल्मको कलेक्सन आरोलो लाग्ने क्रम रोकिएको छैन । आमिर खान र अक्षय कुमारका यी फिल्ममाथि सिंगो बलिउडको ठूलो आशा र भरोसा थियो । तर, साउथले लखेट्न थालेको बलिउडमा ठूला स्टारहरुका एकपछि अर्को फिल्म टाँट पल्टिरहेका छन् ।
‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ बक्सअफिसमा कमजोर बन्दा तेलुगू फिल्म ‘कार्तिकेय २’ले भने नसोचेको व्यापार गरिरहेको छ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शनमा आएको यो फिल्मले दुई ठूला सुपरस्टारको बलिउड फिल्मका कारण पहिलो दिन सयवटा हल पनि पाएको थिएन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि फिल्मले दोस्रो दिनदेखि हल संख्या ह्वात्तै बढायो ।
आमिर र अक्षयको फिल्मको व्यापारमा गिरावट आएपछि दर्शकको माग बमोजिम भारतका हल व्यावसायीहरुले ‘कार्तिकेय २’लाई ठूलो मात्रामा शोज उपलब्ध गराएका छन् । तेलुगू भाषामा तीन दिनमा १७ करोड माथि कलेक्सन गरेको फिल्मले हिन्दी भर्सनमा १ करोड ४५ लाख कमाएको छ । ३० करोडको लागतमा बनेको फिल्मले तीन दिनमै लगानीको आधाभन्दा बढी कमाइसकेको छ ।
आमिर र अक्षयले फिल्मले भने लगानीको ५० प्रतिशत पनि उठाउन नसक्ने देखिन्छ । ठूलो स्टार र ठूलो लगानी हुँदैमा दर्शकले फिल्म रुचाउँदैनन् भन्ने सन्देश ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ले दिएको छ । नेपालमा पनि यी दुई फिल्मले दर्शक तान्न नसकेपछि मनोज राठीको समुहले शुक्रवारबाट ‘कार्तिकेय २’लाई नेपालमा लगाउँदैछ । यो फिल्ममा निखिल सिद्धार्थ मुख्य भूमिकामा छन् ।

