यही भदौ ३ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो, ‘प्रेमगन्ज’ । प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको प्रदर्शनको तीन दिन अगाडि मंगलवार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको थियो । प्रदर्शनको तीन दिन अगाडि प्रिमियर गरेर निर्माण टिमले ठूलो रिक्स उठाएको छ । किनकि, प्रिमियरबाट आउने प्रतिक्रियाले फिल्मको लगभग भविष्य निर्धारण गर्छ ।
.jpg)
‘प्रेमगन्ज’का निर्देशक तथा निर्माता फिल्मप्रति ‘कन्फिडेन्ट’ भएकाले पनि तीन दिन अगाडि प्रिमियर राखेका थिए । र, प्रिमियरमा मिलेको उत्कृष्ट प्रतिक्रियाले निर्माण टिममा उत्साह थपिएको छ । प्रियिमरमा तीन सयभन्दा फिल्मकर्मी, बैंकर्स, मिडियाकर्मीहरुको उपस्थिति थियो । सबैले फिल्मको निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीत र कथावस्तुको प्रशंसा गरे ।
‘आमा’ निर्मात्री शर्मिला पाण्डेले फिल्म उत्कृष्ट बनेको भन्दै प्रशंसाको पूल बाँधिन् । उनले भनिन्, ‘प्रेममा यतिसम्म पनि पागलपन हुन्छ भन्ने फिल्मले देखाउँछु । कलाकारहरुको अभिनय राम्रो छ । यो फिल्मबाट तेज गिरीले अभिनयमा सम्भावना देखाउनुभएको छ । फिल्म लामो भए पनि समय वितेको थाहा हुँदैन । फिल्म अत्यन्त बलियो छ । दर्शकहरुलाई पनि मनपर्छ भन्नेमा विश्वस्त छु ।’
.jpg)
अभिनेत्री बेनिशा हमालले फिल्म हेरिरहँदा धेरै पटक रोएको बताइन् । ‘प्रेमगन्ज’मा यौनकर्मीको भूमिकामा अभिनय गरेकी उनले भनिन्, ‘मलाई कुनै पनि काम दिनुस्, म त्यो क्यारेक्टरलाई न्याय गर्ने कोशिश गर्छु । र, म जस्तोसुकै क्यारेक्टरमा काम गर्न तयार छु ।’ त्यस्तै, अभिनेता तेज गिरीले आफ्नो कामको प्रशंसा भएकोमा खुशी व्यक्त गरे । उनी बैंकिङ क्षेत्रबाट फिल्ममा आएका हुन् ।
परिक्षेद सेनले निर्देशन गरेको फिल्ममा तेज र बेनिशासँगै राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । राजु फुयाँल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । फिल्मको कथा सेन स्वयंको हो ।
.jpg)
कस्तो छ फिल्म ?
करीब ३ घन्टा लम्बाईको फिल्मले दुई कालखण्डको प्रेमकथा भन्छ । फिल्मको पहिलो हाफ सुस्त र लम्बेतान छ । चरित्र स्थापित गर्नका लागि निर्देशकले कथालाई अनावश्यक रुपमा घुमाएका छन् । जबकि, एउटा गीतबाटै फिल्मको कथा भन्न सकिन्थ्यो । यद्यपि, नव-कलाकार सिम्रन खड्काको अभिनयले पहिलो हाफ बचाएको छ । उनले चुलबुले चरित्रमा मिठो प्रस्तुती दिएकी छन् ।
.jpg)
मध्यान्तरपछि फिल्म मूल कथाभित्र पस्छ । दोस्रो हाफ तेज गिरी र बेनिशा हमालले मात्र थेगेका छन् । उनीहरु आ-आफ्नो चरित्रमा जीवन्त बाँचेका छन् । गाउँकी सोझी युवती शहर पसेपछि यौनकर्मी बनेको भूमिकामा बेनिशाले प्रशंसनीय अभिनय गरेकी छन् । पहिलो फिल्म भए पनि तेजले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । बेनिशा र तेजबीचको दोहोरो संवादहरु मन छुने छन् ।
दोस्रो हाफमा फिल्मको कथा भन्न निर्देशकले गीतको पनि साहरा लिएका छन्, जुन गजब छ । कतिपय दृश्यमा गीतले नै कथाको भाव बोलेको छ । सञ्जय लामाको छायांकन अर्को प्रशंसनीय पाटो हो । उनले सिर्जेका दृश्यहरुले आँखालाई शित्तल बनाउँछ । निर्देशक सेनले इमान्दारपूर्वक कथालाई दृश्यभाषामा उतारेका छन् । तथापि, उनी कतिपय ठाउँमा भने भड्किएको भान हुन्छ ।
.jpg)
घिसिपिटी लभस्टोरीबाट ‘प्रेमगन्ज’ माथि उठेको छ । फिल्मले प्रेमको नयाँ दुनियाँमा पुर्याउँछ । तर, पहिलो हाफमा निर्देशकले केही दृश्यमा कैची चलाउन सके फिल्म हेर्दा दर्शकले मोवाइल चलाउनु पर्ने बाध्यता नआउन सक्छ । दोस्रो हाफमा कथाले गति समातेकाले पर्दाबाट आँखा हट्न दिँदैन । फिल्म हेरेर निस्कँदै गर्दा तेज गिरी, बेनिशा हमाल र सिम्रन खड्का आँखामा बस्छन् ।

