
मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वर एन्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । रोमानियामा दुई साता लामो छायांकन गरेर नेपाल फर्किएपछि निर्माण टिमले प्रदर्शन मिति तोकेको हो । लभस्टोरी र कमेडी जनरामा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । यो मितिमा यसअघि फिल्म ‘परस्त्री’ले प्रदर्शन मिति तोकिसकेको छ ।
फागुन २२ र २३ गते होलीको विदा र २४ गते नारी दिवसको सार्वजनिक विदा परेकाले पनि ‘वर एन्ड वधु’लाई फागुन दोस्रो साता प्रदर्शन गर्न लागिएको हो । विदामा फिल्मको व्यापार केही राम्रो हुने विश्वास निर्माताहरुमा हुने गरेको छ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले बताए । यो फिल्मको नेपालमा केही प्रतिशत छायांकन गर्न बाँकी छ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् भने जानुका थापाको पनि लगानी छ । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय छ ।
‘वर एन्ड वधु’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् । सुदिप बरालको छायांकन रहेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अर्जुन जिसीले सम्पादन गर्ने फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

