Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

तृप्तिका छोरा भन्छन्, ‘आमाले बनाएको नाम मेरो लागि ठूलो चुनौती हो’

फिल्मीखबर, काठमाडौं, 2022/08/16
८०/९० को दशकमा नेपाली फिल्ममा ठूलो नाम बनाएकी अभिनेत्री हुन्, तृप्ति नाडकर (टोटलानी) । ‘कुशुमे रुमाल’, ‘साइनो’, ‘सम्झना’, ‘लाहुरे’ जस्ता कयैन् यादगार फिल्ममा काम गरेकी उनी एक दशकदेखि अभिनयमा सक्रिय नभए पनि दर्शकको मन र आँखाबाट अझै हराएकी छैनन् । ८ वर्षयता नेपाल समेत नआएकी उनी ७ वर्षदेखि भारतमा बसेर शिक्षण पेशा गरिरहेकी छन् । 
 
स्क्रिप्ट मन परेको अवस्थामा जुनसुकै बेला फिल्ममा फर्किन तयार रहेको बताउने तृप्तिले आफ्नो छोरालाई पनि नेपाली फिल्ममा ल्याएकी छन् । उनका छोरा धिरज नाडकरले अभिनय गरेको पहिलो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । सोमवार सार्वजनिक ट्रेलरमा उनी भारतीय युवककै भूमिकामा प्रस्तुत छन् । ट्रेलरमा उनको अभिनय दर्शकलाई मन परेको छ । 
 
Dhiraj Nadkar
 
ट्रेलर सार्वजनिक कार्यक्रममा उनले हिन्दी टोनमा टुटेफुटेको नेपाली भाषामा आफ्नो धारणा राखेका थिए । उनले आफ्नी आमाका कारण नेपाली फिल्ममा जोडिएको बताए । उनले भने, ‘म आज तपाईंहरुको अगाडि उभिनुको एउटा मात्र कारण मेरो आमा (तृप्ति नाडकर) ले गर्दा हो । जति माया नेपालले मेरो आमालाई दिएको छ, मैले त्यति नै नभए पनि अलिकता माया पाउन सक्छु होला ।’ 
 
उनले ‘बाबरी’मा आफू जोडिनुको रहस्य पनि खोल्दै भने, ‘फिल्मको एउटा पार्टका लागि निर्माता/निर्देशकले मेरो आमालाई अफर गर्नुभएको रहेछ । त्यसबेला आमाले मेरो छोरा पनि फिल्म खेल्न इच्छुक छ भनेर मेरो प्रोफाइल पठाउनु भएछ । र, निर्देशकलाई मनपर्‍यो अनि फिल्ममा जोडिएँ ।’ उनले नेपाली फिल्ममा करिअर सुरु गर्न ‘बाबरी’भन्दा राम्रो फिल्म अरु हुन नसक्ने पनि बताए ।
 
नेपाली फिल्ममा आमाले बनाएको नाम आफ्नो लागि ठूलो चुनौती रहेको उनको भनाई छ । यद्यपि, आफूले फिल्ममा शतप्रतिशत दिने कोशिश गरेको उनले बताए । विभिन्न भाषाको फिल्म गर्दा अभिनयमा निखारता आउने बताउँदै उनले नेपाली फिल्ममा काम गर्न आफूलाई चुनौती रहेको तर्क गरे । आमाको सबै नेपाली फिल्म हेरेको बताउने धिरजलाई मनपर्ने फिल्म भने ‘साइनो’ रहेछ ।