.jpg)
२०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । श्वेता स्वयंले आफू आमा बन्न लागेको जानकारी मिडियालाई गराएकी हुन् । ६ महिनादेखि उनको गर्भमा बच्चा हुर्किरहेको छ । चिकित्सकको टोलीले उनको डेलिभरी समय आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो हप्तालाई तोकेको जानकारी प्राप्त छ ।
डेलिभरी हुने समय नजिकिँदै गएपछि उनी केही समययता घरमा नै आराम गरिरहेकी छन् । विगत ३/४ महिनादेखि उनी फिल्म क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरुमा पनि पुगेकी छैनन् । २०७४ सालमा प्रदर्शन भएको फिल्म ‘कान्छी’पछि अभिनयभन्दा आफ्नो व्यावसायलाई बढी प्राथमिकता दिँदै आएकी उनले विजयन्द्रसँग करीब २ वर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेकी थिइन् ।
फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी श्वेताको पहिलो विवाह लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको करीब एक महिनामै श्रीकृष्ण स्वर्गीय भए । श्रीसँग श्वेताले अन्तिम पटक फिल्म ‘कोहिनूर’मा काम गरेका थिइन् । सन्तानको जन्मपछि नयाँ फिल्म निर्माण गर्ने योजनामा श्वेता छिन् । उनका श्रीमान् विजयन्द्र पनि विभिन्न व्यावसायमा आबद्ध छन् ।

