सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार यूट्युब रिलिज भएको २ मिनेट ४३ सेकेन्ड लम्बाईको ट्रेलरमा अध्ययन गर्न चाहने एक किशोरीको सपना र त्यसमा आउने अवरोधलाई देखाइएको छ । ट्रेलरले दिदी-भाइको सम्बन्धका विभिन्न आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म आगामी भदौ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’ छनोट भइसकेको छ । फिल्मले ढाका फिल्म फेस्टिभलमा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड दिलाएको थियो ।
यसअघि १४ मिनेटको सर्ट फिल्म ‘सावित्री’ निर्देशन गरेका सुजितको लेखक तथा निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ पहिलो फिचर फिल्म हो । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई मुख्य विषय बनाएको छ । तर, जतिचोटी उनी सपनाको नजिक पुग्छिन् त्यसबेला कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ ।
‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने, ‘उसलाई बाहिर निस्कनु छ तर हरेक पटकको प्रयासमा अनेक अड्चन आइरहन्छ ।’ सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मलिका श्रेष्ठलगायतको फिल्ममा अभिनय छ ।
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

