प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘माइकल अधिकारी’को टिमले प्रचार-प्रसारलाई तीव्र बनाएको छ । तीन हप्तादेखि काठमाडौं केन्द्रित प्रचार गरिरहेको निर्माण टिमले पूर्वबाट मोफसल दौडाहा सुरु गरेको छ । शनिवार अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख दुई शहर विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलनसँगै मिनी कन्सर्ट सम्पन्न गर्यो ।
.jpg)
विर्तामोडको वान स्टप मल र विराटनगरको सेन्ट्रल मलमा आयोजना गरिएको कार्यक्रममा फिल्मको गीतमा कलाकारहरुले प्रस्तुति दिएका थिए । त्यसअघि आयोजित पत्रकार भेटघाटमा सौगातले फरक कथामा बनेको ‘माइकल अधिकारी’मा मनोरञ्जनको डोज रहेको बताए । झापा र ईलाम क्षेत्रमा छायांकन भएका कारण पूर्वेली दर्शकहरुले फिल्ममा अपनत्व महसुस गर्ने उनको विश्वास छ ।
यस्तै, निर्माता निरक पौडेलले फिल्ममा नेपाली समाजकै कथा रहेको बताउँदै दर्शक निराश नहुने दाबी गरे । उनले भने, ‘भाडाको कोख सम्बन्धि नयाँ कथामा परिवार बसेर मनोरञ्जन लिन सकिनेछ । मनोरञ्जनको हकमा यसले निराश बनाउँदैन ।’ उनले बलिउड फिल्म ‘मिमी’सँग फिल्मको कन्सेप्ट मिल्दोजुल्दो देखिए पनि ‘माइकल अधिकारी’ले उठाएको कथा विल्कुलै फरक रहेको बताए ।
रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगातसँगै सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, विद्या कार्की, हेमन्त बुढाथोकी, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ । एक दाम्पति (सौगात-सृष्टि) ले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा लगाउने) निर्णय गरेपछि आउने उतार-चढावमा फिल्म केन्द्रित छ ।
.jpg)
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।

