Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’को डरले सरेको हो ‘परदेशी २’ ?

फिल्मीखबर, काठमाडौं, 2022/08/14
२०७२ सालको दशैंमा प्रदर्शन भएको थियो नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ । फिल्मको कथावस्तु दशैंसँग जोडिएको थियो । नाकाबन्दीको समयमा पनि फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्दै प्रदर्शनको सय दिन मनाएको थियो । यो फिल्मको दोस्रो श्रृंखला ‘परदेशी २’लाई पनि निर्माण टिमले विजया दशमीलाई लक्षित गर्दै असोज १४ गतेलाई प्रदर्शन मिति तोकेको थियो । 
 
तर, शुक्रवार निर्माण टिमले फिल्मलाई ५ महिना पछाडि धकेलेर फागुन ५ गतेबाट प्रदर्शन गर्ने निर्णय गर्‍यो । फिल्मको प्रदर्शन मिति हेरफेरले धेरैलाई आश्चर्य तुल्याएको छ । किनकि, यो फिल्मले तोकेको मिति विशेष थियो । उक्त मितिमा अरु नेपाली फिल्म थिएनन् भने असोज १६ देखि २१ गतेसम्म दशैं विदा थियो । भाग्य बलियो हुने निर्माताले मात्र दशैंमा फिल्म रिलिज गर्न पाउँछन् । 
 
तर, ‘परदेशी’का निर्माताले दशैं विदाको लोभ नगरी प्रदर्शन धकेल्नुको दुई ठूला कारण छन् । एउटा, असोज ७ गते आउन लागेको ‘प्रेमगीत ३’ हो भने दोस्रो, असोज १४ लाई प्रदर्शन मिति तोकेको बलिउड फिल्म ‘विक्रम वेदा’ र साउथ फिल्म ‘पि-एस वान’ हो । एकातिर ‘प्रेमगीत ३’ले हल नछाड्ने अनि अर्कोतिर दुई ठूला भारतीय फिल्म आउने भएपछि ‘परदेशी २’ले रिलिज धकेलेको हो ।  
 
pardeshi and premgeet 3
 
निर्माता राजेश वंशल नेपाली र विदेशी फिल्महरुको भीडभाडले गर्दा रिलिज सारेको बताउँछन् । ‘पोस्ट प्रोडक्सनमा अझै मिहेनत गरौं भनेर पनि रिलिज हेरफेर गरेका हौं । भदौंदेखि फिल्मको भीडभाड पनि ठूलो छ,’ उनी भन्छन्, ‘नेपाली फिल्म ‘प्रेमगीत ३’ले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फड्को मार्दैछ । फिल्म क्षेत्रकै आशा यो फिल्ममाथि छ । यसलाई साथ र सहयोग गर्नुपर्छ भनेर पनि हो ।’
 
सम्पूर्ण नेपालीहरुले हेर्नुपर्ने फिल्म बनेकाले दशैंमा नेपाली र विदेशी फिल्मको ठूलो भीडभाडमा धेरै दर्शकलाई हेराउन सकिन्न कि भन्ने लागेर पनि प्रदर्शन मिति पछाडि सारेको उनले भनाई छ । ‘अगाडि-पछाडि ठूला नेपाली र विदेशी फिल्मको लाइन थिए । त्यो समयमा ‘परदेशी २’लाई धेरै दर्शकसम्म पुर्‍याउन सकिन्न कि भन्ने लागेर पनि रिलिज पछाडि धकेलेका हौं,’ निर्माता वंशलले भने । 
 
फिल्मको कथावस्तु दशैंसँग जोडिएको भए पनि फागुनमा रिलिज गर्दा पनि दर्शकलाई खल्लो नलाग्ने उनको विश्वास छ । ‘कन्टेन्टमा रिक्स भएको भए हामी रिलिज नै सार्ने थिएनौं । ‘परदेशी २’ हाम्रा अघिल्ला दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’भन्दा झन् बलियो छ । त्यसैले भीडभाडमा जुधाउनुभन्दा राम्रो समयमा लगाए धेरै दर्शकलाई देखाउन सक्छौं भन्ने हाम्रो धारणा हो,’ उनले स्पष्ट पारे । 
 
फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, भीमा मैनाली, रोशनी कार्कीलगायतको अभिनय रहेको छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाश सपुतले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । साउन दोस्रो साता फिल्मको ‘के वर मागी फर्क्यौ भन्’ बोलको गीत रिलिज गरिएको थियो ।