Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ले छाडेको मितिमा अब ‘बाबरी’ लाग्ने

फिल्मीखबर, काठमाडौं, 2022/08/14
BABARI
 
बडा दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘परदेशी २’ पाँच महिना पछाडि सरेपछि अब यो मितिमा फिल्म ‘बाबरी’ लाग्ने भएको छ । आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म दुई साता पछाडि सर्दै दशैं विदामा आउन लागेको हो । सोमवार फिल्मको ट्रेलर सार्वजनिक गर्दै असोज १४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिँदैछ । 
 
‘परदेशी २’को प्रदर्शन पोस्टपोन्ड भएपछि असोज १४ मा अरु नेपाली फिल्म थिएनन् । तर, यही मितिमा बलिउड फिल्म ‘विक्रम वेदा’ र मणि रत्नमको साउथ फिल्म ‘पिएस वान’ भने प्रदर्शनमा आउँदैछन् । ‘बाबरी’ टिमले विना विदाभन्दा दशैंको ६ दिन लामो विदामा रिलिज गर्दा व्यापार केही राम्रो हुने विश्वासमा असोज १४ रोजेको हो । ‘बाबरी’ले छाडेको मिति भने अब खाली भएको छ । 
 
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज मगर, अदिती बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, सुनिता श्रेष्ठ, उर्मिला बस्नेत, ध्रुव कोइराला, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय रहेको छ । धिरज नाडकर, एक समयकी चर्चित अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । उनले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । 
 
गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता र सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा सुरेन्द्र पौडेल स्वयंले लेखका हुन् । फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा-संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो ।