Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारले आफ्नो ‘कम्फर्ट जोन’ छाड्नु पर्छ : पुष्प खड्का

फिल्मीखबर, काठमाडौं, 2022/08/14
फिल्म ‘मंगलम’बाट अभिनेता पुष्प खड्काले पूर्नजन्म पाए । यो फिल्मले उनलाई सफलताको सुःख मात्र दिएन, चुनौतीपूर्ण चरित्रमा गरेको जीवन्त अभिनयले राष्ट्रिय चलचित्र अवार्ड नै दिलायो । एउटा कलाकारले अभिनयको आधारमा राष्ट्रबाट अवार्ड पाउनु सानो सफलता होइन । तर, ‘मंगलम’पछि उनले फिल्मको संख्या बढाउनबाहेक अभिनयबाट दर्शकहरुको चित्त बुझाउन असमर्थ छन् । 
 
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’बाट भने केही आश गरिएको छ । फिल्ममा पुष्पले अटिज्म रोगबाट पीडित युवकको भूमिकामा अभिनय गरेका छन् । यसमा सशक्त अभिनय देखिनुपर्ने चुनौती उनमा छ । ट्रेलर हेर्दा उनको अभिनय प्रशंसायोग्य नै देखिन्छ । अब फिल्ममा कस्तो अभिनय छ, त्यसले नै उनलाई आलोचना र प्रशंसाको भागीदार बनाउनेछ ।
 
अटिज्म क्यारेक्टरमा अभिनय गर्न कठोर पूर्वअध्यास गरेका उनी यसप्रकारको चुनौतीपूर्ण चरित्रमा कलाकार चिप्लिने रिक्स बढी हुने बताउँछन् । तर, आफूले पात्रलाई न्याय गर्ने हिसाबमा नै अभिनय गरेको उनको कथन छ । ‘कृष्ण लीला’मा निभाएको चरित्र आफूले उठाएको ठूलो रिक्स मान्छन्, पुष्प । यो चरित्रमा आफूलाई औसत र कमजोर हुन अनुमति नभएको उनको निर्क्यौल छ । 
 
Puspa Bahadur Khadka
 
पुष्प कलाकारले आफ्नो ‘कम्फर्ट जोन’ छाड्न अत्यन्त आवश्यक हुने तर्क राख्छन् । एक भेटमा उनले भने, ‘कलाकारले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर अभिनय गर्नुपर्छ । नत्र त म जुनै फिल्ममा पनि पुष्प मात्रै देखिन सक्छु । ‘कृष्ण लीला’मा म पृष्प खड्का देखिएको छैन ।’ फिल्मको पात्रमा बाँचेर अभिनय गर्न सकेको खण्डमा मात्र वास्तविक अभिनय देखिने उनको कथन छ ।
 
उनी अगाडि भन्छन्, ‘म जुनसुकै फिल्ममा अभिनय गर्छु भने त्यो कथाको पात्र नयाँ जीवन हो । जब नयाँ जीवनमा बाँचेर अभिनय गरिन्छ भने त्यही अभिनय हो भन्ने लाग्छ । र, पात्रलाई मैले न्याय गरेँ भनेर बुझ्छु । हरेक फिल्ममा पुष्प खड्काकै अदा, हाउभाउ देखिरहेको छ भने मलाई लाग्दैन कि त्यो राम्रो अभिनय गरेको हो । अभिनय राम्रो गर्न र देखिन फिल्मको चरित्रमा डुब्नु नै पर्छ ।’ 
 
आजभोली बिरामी, गाउँघरको चरित्रमा अभिनय गर्दा मात्र अभिनय मान्नेको जमात ठूलो छ । तर, यसबारेमा पुष्पको तर्क फरक छ । उनी भन्छन्, ‘अपाहिज, गाउँघरको क्यारेक्टर गर्दैमा अभिनय देखिने र सहरिया, धनाढ्यको भूमिका गर्दा अभिनय नदेखिने भन्ने कदापी हुँदैन । जुन भूमिका गरे पनि अभिनय नै हो । म आफ्नो जीवनभन्दा फरक पात्रको जीवन बाँच्छु भने त्यो अभिनय नै हो ।’ 
 
फिल्ममा पुष्पले अटिज्म रोगबाट पीडित कृष्ण पात्रको जीवन बाँचेका छन् । उनी फिल्ममा निभाएको चरित्रबारे स्पष्ट पार्दै भन्छन्, ‘कृष्ण भन्नसाथ प्रेमको प्रतिकको रुपमा लिइन्छ । फिल्मको कृष्ण पात्रले पनि प्रेमको प्रतिनिधित्व गर्छ तर, ऊ अटिज्म पीडित हो । अटिज्मभित्रको एउटा पात्र हो कृष्ण, जसले प्रेम गरेको छ । अब त्यो पात्रमा कति सफल हुन्छु, दर्शक प्रतिक्रियाले थाहा हुनेछ ।’ 
 
दर्शकले उनलाई म्यूजिक भिडियो होस् वा फिल्म, लभर ब्वाईकै भूमिकामा बढी रुचाएका छन् । उनलाई फिल्मबाट अफर पनि बढीजसो लभस्टोरीबाटै आउने गर्छन् । तर, पुष्प भने आफूलाई फरक चरित्र गर्न मनपर्ने बताउँछन् । ‘म इन्डस्ट्रीमा रहिरहँदा र बाहिर हुँदा पनि मैले निभाएको पात्र बाँचिरहोस् भन्ने लाग्छ । पात्रबाट मलाई कसैले चिन्छ भने त्यसमा नै खुशी हुन्छु,’ उनी सुनिए ।