.jpg)
फिल्म ‘परदेशी २’को कथावस्तु दशैंसँग सम्बन्धित छ । त्यसैले निर्माण टिमले दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको थियो । तर, असोज ७ गते ‘प्रेमगीत ३’ र असोज २१ गते ‘दुई नम्बरी’ आउने भएपछि निर्माण टिमले सेफ ल्यान्डिङ खोज्दै फिल्मलाई करीब ५ महिना पछाडि धकलेको छ । अब यो फिल्म फागुन ५ गतेबाट प्रदर्शन हुनेछ ।
निर्माता राजेश वंशलले वितरक र हल संचालकहरुसँगको सरसल्लाहमा फागुनमा ल्याउने निर्णय गरिएको बताए । प्रदर्शन मिति हेरफेरको निर्णय अनपेक्षित भए पनि समग्र फिल्म क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्देशक नारायण रायमाझीको भनाई छ । असोज १४ लाई प्रदर्शन मिति तोक्दै दुई साता अघि फिल्मको ‘के वर मागी’ गीत रिलिज गरिएको थियो ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फिल्ममा केकी अधिकारी, प्रकाश सपूत, प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय रहेको छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाशले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् ।
‘परदेशी २’को कथा रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । फिल्मको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ । यो फिल्मको पहिलो श्रृंखला बक्सअफिसमा सुपरहिट भएको थियो ।

