Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘प्रकाश’को स्क्रिप्ट प्रदीपले सुनेकामध्ये सबैभन्दा बलियो

फिल्मीखबर, काठमाण्डौ, 2022/08/12
भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्काले करिअरकै चुनौतीपूर्ण भूमिका निभाएका छन् । प्रायः सुकिलोमुकिलो चरित्रमा आफूलाई प्रस्तुत गर्दै आएका उनको यो फिल्ममा चकलेटी अवतार देखिएको छैन । पहिलो पटक गाउँले चरित्रमा उनले अभिनय गरेका छन् । पोस्टरदेखि ट्रेलरसम्म देखिने उनको लुक्सले दर्शकहरुको ध्यान खिचेको छ । 
 
प्रदीप ‘प्रकाश’को स्क्रिप्टलाई कोभिडयता सुनेका अन्य फिल्मको स्क्रिप्टभन्दा बलियो मान्छन् । बिहीवार नेपालगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रदीपले भने, ‘यो फिल्मपछि मैले कुनै फिल्म गरेको छैन । ‘प्रेमगीत ३’ भन्दा राम्रो प्रोडक्सन र ‘प्रकाश’ भन्दा राम्रो सोच नपाएका कारण नै काम नगरेको हुँ । फिल्मको छायांकनयता मैले सुनेका स्क्रिप्टमध्ये सबैभन्दा बलियो ‘प्रकाश’को लाग्छ ।’ 
 
pradeep khadka
 
उनले ‘प्रकाश’को छायांकनका लागि जुम्ला रोज्नुको कारण पनि खुलाउँदै भने- ‘फिल्मले नेपालमा विद्रोहपछि आएको व्यवस्था र त्यो व्यवस्थामा भएको कमी-कमजोरीको विषयमा बोल्छ । त्यो व्यवस्थाले देशको जुनसुकै कुनालाई छोएको छ । त्यसैले हामीले फिल्म जुनसुकै ठाउँमा खिच्न सक्थ्यौं । तर पनि जुम्लामै किन खिच्यौं भन्दा कहीँ न कहीँ कर्णाली अगाडि आउनु पर्छ भनेर हो ।’ 
 
त्यस्तै, अभिनेत्री दीया मास्के फिल्ममा आफूले निभाएको सीता चरित्रलाई बलियो महिलाको रुपमा ब्याख्या गर्छिन् । ‘सीता गाउँको साधारण महिला हो । एकल महिला हो । श्रीमान् र छोराको सपनालाई नै उसले आफ्नो सपना बनाएको छ । दीया मास्के भएर सीतालाई हेर्दा ऊ सशक्त महिला हो । करिअरको यो विन्दूमा यति बलियो चरित्रमा अभिनय गर्न पाउँदा खुशी छु,’ उनले भनिन् । 
 
यस फिल्ममा दीयाले प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । उनले प्रदीपको काम गर्ने शैलीको पनि प्रशंसा गरिन् । उनी भन्छिन्, ‘प्रदीपसँग काम गर्न एकदमै रमाइलो र सजिलो भयो । फिल्ममा मैले एकदमै राम्रो को-एक्टर पाएँ । उसलाई सबैले चकलेटी मात्र किन भन्छन् थाहा भएन । रुप राम्रो भएर पनि होला । तर, मलाई के लाग्छ भने ऊ राम्रो कलाकार पनि हो ।’ 
 
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप र दीयाका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, रामबाबु रेग्मी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । फिल्ममा विकास सुबेदीको कथा लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको गीतमा संगीत रहेको छ ।