
मोहन राईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महानगर’को दुईवटा आधिकारिक पोस्टर शुक्रवार सार्वजनिक भएको छ । दुई पोस्टरमा अभिनेता कार्म शाक्य र अभिनेत्री मेनुका प्रधान फिचर्ड छन् । पोस्टरमा उनीहरु निराश भावमा शान्त र मौन देखिन्छन् । एक साँझ दुई अपरिचित युवा-युवतीको काठमाडौंमा अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथामाथि फिल्म बनेको हो ।
कोलकता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, एसियन फिल्म फेस्टिभल बार्सिलोना, पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा स्क्रिनिङ्ग भइसकेको ‘महानगर’ इण्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि छानिएको छ ।
निफमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनय र निर्देशनको अवार्ड जितेको फिल्मले नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अनरेवल मेन्सन अवार्ड पाएको थियो । गोविन्द पराजुली कार्यकारी निर्माता र नवनिधि दाहाल क्रिएटिभ प्रडुसर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत छ ।
‘महानगर’लाई माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको हो । निर्माण टिमले पोस्टर सार्वजनिक गरे पनि प्रदर्शन मिति घोषणा गरेको छैन । वितरकसँग छलफल गरेर फिल्मको प्रदर्शन निकट भविष्यमा गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताए । यो फिल्म करीब ५ वर्ष अगाडि निर्माण भएको हो ।

