गैरआवासीय नेपाली संघ (एनआरएन) को पूर्व अध्यक्ष तथा अर्बपति भवन भट्टले फिल्म निर्माण गर्ने योजना रहेको बताएका छन् । बिहीवार फिल्म ‘प्रकाश’को जापान रिलिजको जानकारी दिन टोकियोमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले आफूसँग रहेको एउटा कथामा फिल्म बनाउने योजना रहेको बताएका हुन् । भारतमा प्रदर्शनको लक्ष्यसहित फिल्म निर्माण गर्ने उनको सोच छ ।
उनले भनेका छन्, ‘मसँग एउटा स्टोरी छ । मौका मिल्यो भने त्यसमा फिल्म बनाउने सोचमा छु । अहिले मैले तीनवटा एजेन्डाहरु अगाडि ल्याएको छु । यी कामबाट बचेको समयमा फिल्मलाई अगाडि बढाउँछु । खासमा म नेपाली फिल्मलाई भारतमा पुर्याउन चाहन्छु । हामी भारतीय फिल्मबाट प्रभावित छौं । अब हामीले हाम्रो फिल्मबाट भारतलाई प्रभावित बनाउनु पर्ने बेला आएको छ ।’

बाल्यकालमा आफूलाई फिल्मको निर्देशक बन्ने रहर रहेको पनि उनले स्मरण गरे । ‘स्कूल पढ्ने समयमा मलाई निर्देशक बन्ने रहर थियो । निर्देशकले जस्तो हातले फ्रेम हेर्थें । यो देखेर मलाई कतिले डाइरेक्टर साप भनेर बोलाउँथे । पछि त्यो सौख पूरा गर्न पाइनँ । मैले हरी पाण्डेलाई राखेर एउटा भिडियो बनाएको थिएँ । तर, त्यो कहाँ गयो कहाँ, अहिलेसम्म रिलिज हुन सकेन,’ उनले भने ।
भवन भट्टको जापानमा ठूलो व्यवसाय छ । गोरखाबाट जापान पुगेपछि लामो समय जापानको रेस्टुरेन्टहरुमा भाँडा माझेका उनको अहिले जापानमा २९० बढी होटल तथा रेस्टुरेन्ट छन् । उनी आफू जापान आउनुको एउटा ठूलो कारणमध्ये फिल्मको प्रभावलाई मान्छन् । त्यसबेला नेपाल टेलिभिजनमा प्रशारण हुने जापानी फिल्म ‘ओशिन्’ हेरेपछि जापानप्रति उनको आकर्षण बढेको रहेछ ।
उनी सम्झन्छन्, ‘फिल्म भनेको समाजलाई पर्दापर्ण गर्ने सशक्त माध्यम हो । म जापान आउनुको एउटा कारण फिल्म ‘ओशिन्’ हो । मसँगै जापान आउने साथीहरु पनि ‘ओशिन्’ हेरेर आएको भन्थे । मानिसमा फिल्मको प्रभाव त्यति ठूलो हुन्छ । ‘ओशिन्’पछि नै जापानको अर्थतन्त्रमा ठूलो परिवर्तन आएको हो ।’ भवनले पछिल्लो समय नेपाली फिल्म स्तरीय बन्न थालेकोमा खुशी व्यक्त गरे ।

