आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’बाट एक समयकी चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज टोटलानी (नाडकर) ले अभिनेताको रुपमा डेब्यू गरेका छन् । तर, फिल्मको फर्स्टलुकदेखि दुई गीत सार्वजनिक हुँदासम्म निर्माण टिमले उनलाई लुकाएको थियो । बिहीवार सार्वजनिक तीनवटा पोस्टरहरुमा भने उनी अटेका छन् ।
.jpg)
तीनवटै पोस्टरमा धिरजसँगै फिल्मका अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी पनि फिचर्ड छन् । दुईवटा पोस्टरमा उनीहरुबीचको मित्रता झल्किन्छ । एउटा पोस्टरमा भने धिरज र अदिती पियानो बजाउँदै खुशी भावमा देखिएका छन् तर, धिरज मगर चुरोटको धुँवा उडाउँदै एङ्ग्री लुक्समा प्रस्तुत छन् । यी पोस्टरले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझाउँछ ।
.jpg)
फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतको पनि अभिनय रहेको छ । फिल्मको ट्रेलर साउन ३० गते रिलिज गर्ने तयारी गरिएको छ । यतिबेला फिल्ममा समावेश ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चर्चामा छ । यी दुई गीतले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
.jpg)
निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मको गीतमा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ भने एञ्जिला खत्री विक्रम लामाको कोरियोग्राफी छ । फिल्मलाई नरेन्द्र मैनाली खिचेका हुन् । बाबरी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्मातामा छन् । सुष्मा गुरुङ भने सह-निर्माताको रुपमा आबद्ध छिन् ।

