अभिनेता पुष्प खड्काले ‘मंगलम’पछि फिल्म ‘कृष्ण लीला’मा चुनौतीपूर्ण चरित्रमा अभिनय गरेका छन् । भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्ममा उनी सुस्त मनस्थिति (अटिजम) भएको युवकको भूमिकामा देखिँदैछन् । कृष्ण पात्रको लीलासँग प्रेम र अटिजम भएका कारण उसको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित छ । ट्रेलर हेर्दा पुष्पले चरित्र निर्माणमा गरेको मेहेनत देखिन्छ ।
फिल्मको अफर आएपछि पुष्पको दिमागमा एउटा अनुहार घुम्न थालेको थियो, जसलाई उनले एक फिल्म र म्यूजिक भिडियोहरुको छायांकन सेटमा भेटेका थिए । उनी स्मरण गर्दै भन्छन्, ‘ती भाई विस्तारै बोल्थे, अस्वभाविक हाँस्थे । अटिजमको लक्षण उनमा थियो ।’ ‘कृष्ण लीला’मा आफैंले अटिजम क्यारेक्टर निभाउनु पर्ने भएपछि उनले चरित्र निर्माणको क्रममा ती भाईलाई भेट्न खोजे ।
तर, उनका बाबुआमाले पुष्पको भेट्ने प्रस्ताव स्वीकार गरेनन् । उनी भन्छन्–‘मलाई उहाँहरुले छोरालाई एक मिनेट पनि बाहिर निस्कन नदिने भन्नुभयो । त्यसपछि अटिजम मैले सोचेभन्दा पनि संवेदनशिल रहेछ भन्ने महशुश भयो । २ घन्टामा घरमै पुर्याइदिने विश्वास दिलाएपछि भाईका आमा-बुबा मान्नुभयो । अनि, मैले त्यो भाइको घन्टौं हाउभाउ नियालेँ र केही भिडियोहरु पनि खिचेँ ।’

चरित्र निर्माणमा ती भाईसँगको भेटले ठूलो सघाएको पुष्पको भनाई छ । फिल्ममा बच्चाको जस्तो बोल्ने शैली र व्यवहार देखाउनु पर्ने भएकाले उनले आफ्नी ४ वर्षकी भान्जीसँग पनि घन्टौं विताए । ‘बच्चाहरु चन्चले हुन्छन् । हात खुट्टा दिमाग चाँडो चल्ने हुन्छ । मैले भान्जीसँग समय विताउँदा ती गतिविधि पनि नियालेँ, जसले मलाई अटिजम क्यारेक्टर निभाउन थप सजिलो भयो,’ उनले भने ।
फिल्ममा अभिनय गरेपछि पुष्प खड्काको अटिजम पीडितप्रति हेर्ने नजर नै परिवर्तन भएको छ । यस्ता व्यक्तिहरुलाई सबैले माया र सम्मान दिनुपर्ने उनको भनाई छ । फिल्ममा अभिनय गर्ने क्रममा कति दृश्यमा आफू भावुक पनि भएको उनी स्मरण गर्छन् । पुष्पले ‘कृष्ण लीला’का लागि चरित्र निर्माणको प्रक्रियामा कलाकार अशान्त शर्मासँग १५ दिन लामो अभिनयको कक्षा लिएका थिए ।
अटिजम पीडितको भावनालाई आफूले ५० प्रतिशत मात्र भए पनि बुझ्न सकेको र दर्शकले फिल्म हेरेर अटिजम पीडितको बारेमा २० प्रतिशत बुझे पनि आफू सफल भएको ठान्ने उनको भनाई छ । अटिजम पात्रको भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न शतप्रतिशत कोशिश गरेको बताउँदै उनले राम्रो अभिनय गर्न पात्रबारे गहिरो अध्ययन र मेहेनत गर्न पनि आवश्यक हुने अनुभव साटेका छन् ।

