करिअरको सुरुवाती समयदेखि नै अभिनेत्री दीया मास्केले आफूलाई स्टेरियोटाइप भूमिकाबाट सकभर टाढै राखिन् । ‘कागबेनी’, ‘साँधुरो’, ‘एक दिन एक रात’, ‘फिटकिरी’, ‘सुनगाभा’ जस्ता फिल्ममा चुनौतीपूर्ण चरित्र निर्वाह गरेकी उनले आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रकाश’मा आफूभन्दा केही बढी उमेरको विपन्न महिला चरित्रमा अभिनय गरेकी छन् ।
उनी उमेरका कयैन् अभिनेत्रीहरु अहिले पनि स्टेरियोटाइप भूमिकाबाट बाहिर निस्कन सकेका छैनन् । अझ भनौं चाहँदैनन् । तर, अभिनेत्री मास्के भने हरेक प्रकारको चरित्रमा आफूलाई ढाल्न तयार छिन् । उनलाई ‘प्रकाश’मा आफूभन्दा बढी उमेरको महिलाको भूमिकामा अभिनय गरेकोमा कुनै अपसोस पनि छैन । बरु, उनी यति सशक्त भूमिकामा काम गर्न पाएकोमा गर्व महशुस गर्छिन् ।
.jpg)
उनी भन्छिन्, ‘मैले ‘प्रकाश’मा निर्वाह गरेको क्यारेक्टर उमेरको हिसाबले चाँडो गरेँ भन्ने लाग्दैन । निर्माता, निर्देशक र लेखकले मप्रति यो क्यारेक्टर गर्न सक्छ भनेर विश्वास गरेकोमा नै खुशी छु । करिअरको सुरुवातमै मैले चुनौतीपूर्ण चरित्र गरेकाले मलाई यो भूमिका गर्न समस्या थिएन । म हरेक प्रकारको चरित्रमा अभिनय गर्न तयार छु । ‘प्रकाश’मा मेरो चरित्र ८० वर्षको भए पनि गर्थें ।’
यो फिल्मबाट उनी करीब ७ वर्षपछि अभिनयमा फर्किएकी हुन् । यसकारण उनलाई फिल्ममा काम गर्दा केही गाह्रो-अप्ठ्यारो भने भएको रहेछ । उनी सम्झन्छिन्, ‘पहिला जति नै काम गरे पनि कलाकारलाई नयाँ काम नयाँ नै हुन्छ र गाह्रो पनि हुन्छ । आर्टको जुन प्राक्टिस हुन्छ, त्यो साइकल सिके जस्तो हो । एकपटक साइकल सिकेर १० वर्षपछि फेरि हाँक्दा केही गाह्रो-अप्ठ्यारो हुन्छ ।’
उनी अगाडि भन्छिन्, ‘मेरो फिल्मबाट केही समय ब्रेक भएकाले ‘प्रकाश’मा काम गर्दा केही गाह्रो हुन्छ भन्ने बुझेको थिएँ । फिल्ममा म अलि ढिलो प्रवेश भएकाले जुम्लाको रहनसहन, भाषा, बोली, लवज टिप्न केही समय लाग्यो । विशेषगरी भाषा सिक्न गाह्रो भयो । मेरो क्यारेक्टर एउटा सीमाभन्दा बाहिर निस्किएको छैन । र, मेरो बडी ल्याङ्वेज जुम्लाको स्थानीय जस्तो देखिन जरुरी थियो ।’
‘प्रकाश’मा दीयाले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । पोस्टरदेखि ट्रेलरसम्म उनको लुक्सले धेरैको ध्यान खिचेको छ । प्रदीपको लुक्सले पनि दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ ।

