
नेपाली फिल्मका नामी छायाँकार विदुर पाण्डेले बुधवार विहान काठमाडौंको गंगालाल हृदयरोग अस्पतालमा अन्तिम सास लिए । उनको ५५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधवार विहान पशुपति आर्यघाटमा राखिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकारदेखि निर्माता-निर्देशकहरु आर्यघाट पुगेका थिए ।
छायाँकार पाण्डे भदौ पहिलो साताबाट अभिनेता राजेश हमालले अभिनय गर्न लागेको एक नयाँ फिल्मको छायांकन गर्ने तयारीमा थिए । बेलायतमा पढ्दै आएका एक निर्देशकले रारा क्षेत्रमा छायांकन गर्न लागेको अंग्रेजी भाषामा निर्माण हुने फिल्मको वर्कशपमा बुधवार साँझसम्म उनी पनि सहभागी थिए । तर, वर्कशप सकेर घर पुगेपछि विहानीपख उनको स्वास्थ्यमा समस्या आएको थियो ।
छायाँकार पाण्डेलाई आफ्नो करिअरमा कहिल्यै अभिनेता राजेश हमालले अभिनय गरेको फिल्म खिच्ने मौका जुरेको थिएन । जसले गर्दा हमाललाई पहिलो पटक आफ्नो क्यामेरामा कैद गर्न उनी उत्साहित थिए । तर, उनको त्यो सपना अब कहिल्यै पूरा नहुने भएको छ । छायाँकारको रुपमा झन्डै डेढ दशक विताइसकेका उनी पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् ।

टेलिभिजन तथा म्यूजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायांकनमा व्यस्त थिए । उनले पन्ध्र सयभन्दा बढि म्यूजिक भिडियो छायांकन गरेका छन् भने दर्जनौं विज्ञापन, वृत्तचित्र तथा फिल्महरुको छायांकन गरेका छन् । उनले ‘कागबेनी’का साथै ‘पण्डित बाजेको लौरी, ‘भूईंमान्छे’, ‘जंग बहादुरको कोट’, ‘मेरो बेस्ट फ्रेण्ड, ‘स्वर’ लगायतका फिल्महरु पनि खिचेका छन् ।

