Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फरक भूमिकामा काम गर्न रुचाउने सृष्टि

फिल्मीखबर, काठमाडौं, 2022/08/10
वर्षौंदेखि प्रायः नेपाली फिल्ममा अभिनेत्रीहरुलाई शो-पिसको रुपमा प्रस्तुत गरिँदै आएको छ । हिरोको वरिपरी नाच्ने, समस्या पर्दा बचावमा चिच्याउनेबाहेक अभिनेत्रीहरुलाई गम्भीर प्रकारको भूमिकामा प्रस्तुत गर्न मेकरहरुले नै जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, केही अपबाद फिल्ममा भने अभिनेत्रीहरुले वास्तवमै अलग प्रकारको भूमिकामा आफूलाई सशक्त रुपमा प्रस्तुत छन् । 
 
नेपाली फिल्मको स्टेरियोटाइप सोचबाट बाहिर निस्कने प्रयास गरिरहेकी अभिनेत्रीमा सृष्टि श्रेष्ठ पनि पर्छिन् । यतिबेला उनी फरक खालको चरित्रमा आफैंमाथि ‘एक्सपेरिमेन्ट’ गरिरहेकी छन् । आगामी भदौ ३ बाट प्रदर्शन हुन लागेको फिल्म ‘माइकल अधिकारी’ र भदौ १० मा प्रदर्शन हुन लागेको फिल्म ‘राधा’मा उनले फरक-फरक चरित्र बाँचेकी छन् । जुन उनका लागि नै चुनौतीपूर्ण थिए ।
 
Shristi Shrestha
 
सृष्टि आफूलाई अलग खालको चरित्रमा अभिनय गर्न मन पर्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई भर्खर आर्टिस्ट भइरहेको छु जस्तो लाग्न थालेको छ । मैले सानैदेखि अभिनय गर्छु भनेर सोचेको होइन । विस्तारै मैले आफूलाई खोज्दै छु । फिल्ममा काम गर्ने क्रममा मेरो बुझाई जसरी परिवर्तन भइरहेको छ, त्यसअनुरुप नै मलाई फरक-फरक भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ ।’ 
 
बेलायतमा हुर्किएकाले उनी नेपालको ग्रामिण जनजीवनसँग नजिक हुन पाइनन् । यसले गर्दा पनि गाउँको कथा र चरित्रमा काम गर्न मन लाग्ने गरेको उनको भनाई छ । ‘म बेलायतमै हुर्किएँ । नेपालको ग्रामिण भेगसँग म त्यति नजिक हुन पाइनँ । त्यसैले मलाई गाउँको कथा र चरित्रमा काम गर्न एकदमै मन लाग्छ,’ सृष्टिले अगाडि भनिन्, ‘फरक खालको भूमिका गर्नु मेरो आफ्नो रुचि हो ।’
 
‘माइकल अधिकारी’मा उनले अरुका लागि बच्चालाई जन्म दिन कोख भाडामा लगाउने विवाहित महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनी यो फिल्ममा काम गर्न राजी हुनुको कारण बलियो स्क्रिप्टलाई मान्छिन् । पहिलो पटक कमिकल क्यारेक्टरमा काम गरेकाले आफ्नो लागि नयाँ अनुभव भएको उनको कथन छ । फिल्ममा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल छन् ।