
अभिनेता आर्यन सिग्देलका लागि यस वर्षको जन्मदिन विशेष बनेको छ । शनिवार जन्मदिन सेलिब्रेट गरेका उनले आइतवार नयाँ फिल्म साइन गरेका छन् । ‘सायरा’ नाममा निर्माण हुन लागेको फिल्ममा उनी अनुबन्ध भएका हुन् । आइतबार निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिजले आर्यनसँग कागजी सम्झौता गरेको हो । यो फिल्मलाई रघु परियारले निर्माण गर्न लागेका हुन् ।
सोसल ड्रामा र लभ स्टोरीमा निर्माण हुने फिल्मको कथावस्तु र क्यारेक्टर मन परेपछि काम गर्न तयार भएको आर्यनले बताएका छन् । आगामी असोजबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने प्रस्तुतकर्ता परियारले जानकारी दिए । फिल्मको अन्य ‘कास्ट एन्ड क्रियू’ चाँडै सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ ।
फिल्मको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । निर्देशक भने भारतीय रहने उनले बताए । ‘हामीले फिल्मको कास्टिङ लाइनअप पूरा भएपछि पूर्ण रुपमा जानकारी दिनेछौँ । निर्देशक भने बलिउडमा काम गरिरहेका भारतीय हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ,’ परियारले भने । कथावस्तुको मागअनुसार अष्ट्रेलियामा छायांकन गर्न लागिएको उनको भनाई छ ।
लगातार फिल्म असफल भइरहे पनि आर्यनको हातमा फिल्मको कमी छैन । लकडाउनको समयमा उनले ‘डिसेम्बर फ्ल्स’, ‘मिरर’ र निर्देशक मधुसुदन भट्टराईको एक अनटाइटल फिल्म साइन गरेका थिए । ‘डिसेम्बर फ्ल्स’को केही प्रतिशत छायांकन पूरा भएर अड्किएको छ भने ‘मिरर’ र मधुसुदनको फिल्म बन्ने/नबन्ने टुंगो छैन । यो अवस्थामा ‘सायरा’ले उनलाई ठूलो राहत दिएको छ ।

