अहिलेका हटकेक अभिनेता अनमोल केसी नयाँ फिल्म ‘छड्के २’मा भिन्न भूमिकामा देखिँदैछन् । यसको तयारीका लागि यतिबेला उनी भरतपुरको चितवनमा वर्कसप गरिरहेका छन् । सोमवार (आज) निर्माण टिमले सार्वजनिक गरेको वर्कसपका तस्विरहरुमा उनी निर्देशकसहितको टिमसँग फिल्मको क्यारेक्टरमा आफूलाई ढाल्न मिहेनत गरिरहेको देखिन्छन् । उनको लुक्स पनि भिन्न छ ।
तस्विरमा अनमोलको मूड र लुक्स हेर्दा फिल्ममा उनी एङ्ग्री योङम्यानको भूमिकामा प्रस्तुत हुन लागेको अनुमान गर्न सकिन्छ । अनमोलले वर्कसपमा मिहेनत गरेको तस्विरहरुले नै दर्शकलाई फिल्मप्रति कौतुहलता र उत्सुकता जगाउन सक्छ । निर्देशक तथा लेखक निगम श्रेष्ठले वर्कसपमा अनमोलले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको अथक मिहेनतबाट आफू प्रभावित भएको बताए ।
उनले भनेका छन्, ‘अहिले चितवनमा वर्कसप भइरहेको छ । अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गर्न मिहेनत गरिरहेका छन् । एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन गरेको यो संघर्षले टिमलाई नै उर्जा मिलेको छ । हामीले सोचेकोभन्दा पनि बढी मिहेनत अनमोलले आफ्नो क्यारेक्टरमा प्रस्तुत हुन गरिरहेका छन् ।’
साउन तेस्रो साताबाट फिल्मको छायांकन गर्ने तयारी गरिएको भए पनि मौसम प्रतिकुल नहुँदा भदौ १ गतेबाट छायांकन सुरु गर्न लागिएको निर्माता प्रशान्त गिरीले जानकारी दिए । काभ्रे फिल्म्सको ब्यानरमा बन्न लागेको ग्याङ्गस्टर फिल्मको छायांकन सेड्युल ६० दिनको रखिएको छ । लक्ष्मण काफ्ले पनि निर्माता रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपालको पनि अभिनय रहनेछ ।

