.jpg)
आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’को रिलिज पोस्डपोन्ड भएको छ । निर्माण टिमले फिल्मलाई डेढ महिना पछाडि धकेल्दै कात्तिक ११ गते (भाईटीकाको भोलीपल्ट) लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम मुम्बईमा भइरहेकाले पूर्वघोषित मितिमा प्रदर्शन गर्न सम्भव नभएको निर्देशक सम्राट बस्नेतले बताए ।
फिल्मको गत महिना टिजर सार्वजनिक गरिएको छ । एक्सन र थ्रिलर शैलीको टिजरले फिल्मप्रति अपेक्षा बढाएको छ । सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकीलगायतको अभिनय रहेको फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) र निर्माता सिजन अर्याल हुन् ।
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको ‘लाखे’लाई सुसन प्रजापतिले खिचेका हुन् । सिजन अर्यालको कथा रहेको यस फिल्मको पटकथा आकाश बरालले लेखेका हुन् भने संवादमा उनलाई अनुप न्यौपानले सघाएका छन् । फिल्ममा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई ‘आरआर फिल्मस्’ले वितरण गर्दैछ ।

