एक समय नेपाली फिल्म क्षेत्र हाँकेका नायक हुन्, आर्यन सिग्देल । लभर ब्वाईको भूमिकामा उनी निर्विकल्प झैँ थिए । युवापुस्तामा गजबको क्रेज बनाएका उनलाई एक दशक फिल्मको कमी भएन । न त हिट फिल्मका लागि भौतारिनु पर्यो । तर, करिअरको उचाईंमा रहँदा फिल्म छनौटमा उनी गम्भीर हुन सकेनन् । त्यसको प्रतिफल स्वरुप यतिबेला उनको स्टारडम कमजोर बनेको छ ।
आफ्नो सुस्ताएको करिअर र धराप बनेको स्टारडम उकास्न उनले आफ्नै लगानीमा फिल्म ‘कायरा’ समेत बनाए । तर, फ्लपको छायाँले उनलाई पछ्याउन छाडेन । कोभिडअघि उनले ठूलो आश गरेका दुई फिल्म ‘चचहुइँ’ र ‘हजार जुनीसम्म’ रिलिज भए । यी दुई फिल्मले पनि उनलाई राहतको सास फेर्न दिएनन् । अचेल आर्यन म्यूजिक भिडियोमा अभिनय गरेर चित्त बुझाइरहेका छन् ।
.jpg)
कोरोना महामारीको समयमा उनले तीन फिल्म साइन गरेका थिए, ‘डिसेम्बर फल्स’, ‘मिरर’ र मधुसुदन भट्टराईको एक अनटाइटल प्रोजेक्ट । ‘डिसेम्बर फल्स’को आधाउधी छायांकन भइसकेको छ । तर, केही प्रतिशत छायांकन महिनौंदेखि अड्केको अड्क्यै छ । ‘मिरर’ भने छायांकनमा निस्कने समयमा कोरोना महामारी फैलिएपछि रोकियो । अब यो फिल्म बन्छ वा बन्दैन, कुनै टुंगो छैन ।
निर्देशक मधुसुदन भट्टराईले गत बैशाखबाट फिल्मको छायांकन सुरु गर्ने गरी आर्यनसँग सम्झौता गरेका थिए । यो फिल्म पनि अब निर्माण हुनेमा आशंका उब्जिएको छ । जसले गर्दा आर्यनको पाइपलाइनमा फिल्म त छ तर कहाँ छ, त्यो भने सिला नै गर्नुपर्ने देखिएको छ । निर्माता-निर्देशकको कारणले फिल्म बन्न नसकेको हो वा आर्यनलाई लिएर रिक्स लिन नचाहेका हुन्, बुझ्न गाह्रो छ ।
शनिवार उनको जन्मदिन थियो । उनलाई शुभचिन्तकदेखि उनी नजिक धेरै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिए । आर्यनले आइतवार इन्स्टाग्राममा आफ्ना केही तस्विरहरु साझेदार गर्दै जन्मदिनको शुभकाना दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । तस्विरको पृष्ठभूमिको दृश्य हेर्दा अहिले उनी घुमफिरका लागि विदेशी भूमिमा रहेको बुझ्न सकिन्छ ।

