Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नक्षत्र फाउन्डेशनले गर्‍यो रन्जित गजमेरलाई सम्मान

फिल्मीखबर, काठमाडौं, 2022/08/05
ranjit gajmer
 
नेपाली फिल्मको गीतसंगीतका मूर्धन्य साधक रन्जित गजमेरलाई अमेरिकाको नक्षत्र फाउन्डेशनले सम्मान गरेको छ । अमेरिकामा बसोवास गरिरहेका नेपालीहरुको सक्रियतामा सञ्चालित उक्त फाउन्डेशनले बुधवार काठमाडौंको पाँचतारे होटल र्‍याडिशनमा आयोजना गरेको एक सांगीतिक कार्यक्रमका बीच नगद १ लाख राशीसहित संगीतकार गजमेरलाई सम्मान पत्र प्रदान गरेको हो । 
 
सोही अवसरमा मेनुका फाउन्डेशनले पनि नगद ५० हजारसहित गजमेरलाई सम्मान गरेको थियो । नेपाली गीतसंगीतमा पुर्‍याएको योगदानको कदर स्वरुप गजमेरलाई सम्मान गरिएको नक्षत्र फाउन्डेशनका सिइओ अर्जुन सुवेदीले बताए । ‘हामी जहाँ छौं त्यहाँ नेपाली गीतसंगीत हुनुको एक प्रमुख कारण रन्जित गजमेर हुनुहुन्छ । युगपुरुषलाई सम्मान गर्ने पाएकोमा खुशी छौं’, उनले भने ।
 
कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा रेडियो नेपालका निर्देशक नवराज लम्सालले गजमेर चार पुस्ताका संगीतकार रहेको जिकिर गरे । गजमेर नेपाल, दार्जीलिंग र मुम्बईको संगीतको त्रिवेणी रहेको उनको भनाई छ । सम्मान कार्यक्रममा गजमेरका ‘गुँरास फुल्यो वनैभरि’, ‘मिर्मिरे साँझ सिमसिमे पानी’, ‘तिम्रो मनमा लुकेका कुरा’, ‘यो दुई थोपा आँशु’लगायतका चर्चित गीतहरु गाइएको थियो ।
 
नक्षत्र फाउन्डेशन गैर नाफामुलक संस्था हो, जसले सहयोग जरुरी रहेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । यतिबेला नेपालमा रहेका फाउन्डेशनका सिइओ सुवेदीले झापामा एक विद्यालय उद्घाटन गरेको बताए । उक्त विद्यालयलाई फाउन्डेशनले आर्थिक सहयोग गरेको छ । फाउन्डेशनले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा पनि सहयोग हस्तान्तरण गरेको छ ।