Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट राइटरलाई १५ लाख दिनुपर्छ : सौगात मल्ल

फिल्मीखबर, काठमाडौं, 2022/08/04
फिल्मको जग भनेकै स्क्रिप्ट हो । जब स्क्रिप्टमै पर्याप्त लगानी र मेहनत गरिँदैन भने फिल्म कसरी राम्रो बन्न सक्छ ? तर, नेपालमा स्क्रिप्टभन्दा नाम चलेका कलाकारलाई साइन गराउन मेकरहरुले बढी मेहनत गर्छन् । कलाकारलाई ३०-४० लाखसम्म तिर्न सहर्ष तयार हुने निर्माताहरु स्क्रिप्ट राइटरलाई भने एक/दुई लाख दिएर झारो टार्छन् । अनि, लेखकले पनि स्क्रिप्टमा किन मेहनत गर्छ ?
 
कलाकारभन्दा स्क्रिप्टमा मेहनत र लगानी गर्नुपर्ने बहस हुँदै आएको भए पनि एकाधबाहेक प्रायः निर्माता/निर्देशकहरुको पहिलो प्राथमिकतामा त्यो कुरा पर्दैन । जसले गर्दा वर्षेनी दर्जनौं फिल्म स्क्रिप्टमै चुकेर डब्बा हुने गरेका छन् । अभिनेता सौगात मल्ल पनि नेपाली फिल्मको कमजोरी स्क्रिप्टमै देख्छन् । स्क्रिप्टमा खासै मेहनत र लगानी नहुँदा फिल्म राम्रो बन्न नसकेको उनको कथन छ । 
 
saugat malla
 
बिहीवार पत्रकारसँगको भेटघाटमा सौगातले भने- ‘स्क्रिप्टमै मेहनत र लगानी भएन भने फिल्म राम्रो बन्नै सक्दैन । नेपालमा स्क्रिप्टमा खासै समय नै दिइँदैन । सबैलाई फिल्म बनाउनै हतारो हुन्छ । फिल्मको स्क्रिप्ट तयार गर्न कम्तिमा डेढदेखि दुई वर्ष दिनुपर्छ । त्यति समय मेहनत गरिँदैन भने फिल्म बनाउनु नै बेकार छ । दुई वर्ष स्क्रिप्टमा मेहनत गरेको लेखकले १५ लाख त डिजर्भ गर्छ ।’ 
 
फिल्म स्क्रिनप्लेले बलियो हुने भएकाले एक/दुई वर्षमा मात्र आफूलाई त्यसप्रकारको फिल्म आउने गरेको र काम गर्दा पनि सन्तुष्टि मिल्ने सौगात बताउँछन् । आफ्ना अघिल्ला फिल्महरुभन्दा अब प्रदर्शन हुने तयारीमा रहेका फिल्ममा दर्शकहरुले स्क्रिनप्लेमा धेरै सुधार महशुस गर्ने उनको विश्वास छ । स्क्रिनप्ले बलियो हुने वितिक्कै कलाकारको काम त्यसै राम्रो देखिने सौगातको अनुभव छ । 
 
उनी ‘माइकल अधिकारी’लाई स्क्रिनप्ले बलियो भएको फिल्मको रुपमा चित्रण गर्छन् । ‘नेपाली फिल्मको स्क्रिप्टमा खाल्टाखुल्टीहरु बढी हुन्छ । काम गर्दै जाँदा बनाउला नी भनेर बसिन्छ । तर, ‘माइकल अधिकारी’ त्यस्तो थिएन । स्क्रिप्ट आउँदा नै एउटा कुरा पनि थप्नुपर्ने देखेको थिइनँ । स्क्रिनप्ले बलियो भएपछि कलाकारले चरित्रको भावमा अभिनय गर्दा पुग्ने रहेछ,’ सौगातले अनुभव सुनाए ।
 
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘माइकल अधिकारी’मा सौगातको जोडी अभिनेत्री श्रृष्टि श्रेष्ठसँग बाँधिएको छ । उनीहरु रियल जोडी समेत हुन् । नेपालको कानुनले अवैध मानेको सेरोगेसी (भाडाको कोख) को विषयवस्तुमा निर्माण भएको फिल्ममा उनीहरुले पैसाको लोभमा अरुका लागि कोख भाडामा लगाउन तयार एक दाम्पत्तिको भूमिकामा अभिनय गरेका छन् ।