एक समय अभिनेता राजेश हमालले मुख्य नायक भएर तीन सयभन्दा बढी फिल्ममा अभिनय गरे । तर, यतिबेला उनलाई बुबाको भूमिकाको प्रस्तावहरु बढी पुग्ने गरेका छन् । हालसालै उनलाई ‘छड्के २’मा अभिनेता अनमोल केसी र ‘फूलबारी’मा अभिनेता दयाहाङ राईको बुबाको भूमिकाको प्रस्ताव पुगेको थियो । तर, हमालले अहिले नै बुबाको भूमिकामा काम गर्न रुचि देखाएनन् ।
बुधवार एक रियालिटी शोमा अतिथीको रुपमा उपस्थित हुने क्रममा उनले बुबाको भूमिका अस्वीकार गरेको विषयमा पत्रकारलाई ठट्यौली शैलीमा जवाफ फर्काए । उनले भने- ‘बाबु त हुन्छु तर, बा-आमाको बाबु चाहिँ हुन्छु । छोरा-छोरीको बाबु चाहिँ हुँदिनँ । यो बुबा हुने उमेर हो मेरो ?’ राजेश हमालले कलाकार भएपछि भूमिका कस्तो हो भन्ने कुराले फरक नपार्ने धारणा राखेका छन् ।
.jpg)
‘कलाकारलाई भूमिका कुन भन्ने कुराले फरक पार्दैन । भूमिका सशक्त छ, सेन्ट्रल क्यारेक्टर छ, फिल्ममा त्यसको महत्त्वपूर्ण छ भने कलाकारले जुन भूमिका पनि गर्छ । तर, त्यसको सशक्तता हुनुपर्छ,’ उनको कथन छ । आफूले जति राम्रो डान्स गर्ने व्यक्ति नेपालमा पनि छ र भन्दै आफैंमाथि मजाक गरेका उनले अभिनेता दीलिप रायमाझीलाई समेत आफूले डान्स सिकाएको ठट्टा गरे ।
‘नेपालमा जति पनि कोरियोग्राफरहरु हुनुहुन्छ, सबैलाई मैले नै डान्स सिकाउँछु । दीलिप रायमाझीलाई पनि मैले डान्स सिकाएको हो । त्यसबेला फिल्ममा व्यस्त हुँदा पनि मैले दीलिपजीलाई २ दिन डान्स सिकाएँ,’ उनले थपे, ‘तर, कहिले काहिँ गुरुभन्दा चेला अघि निस्किन्छ ।’ हमाल आफूलाई गीतको लयमा जिउडाल बंग्याएर नाच्न नआउने भएपनि गीतमा रमाएर नाच्ने गरेको बताउँछन् ।
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका आफ्ना समकालीन अभिनेता भुवन केसीलाई पनि हमालले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न सुझाव दिए । उनले भने- ‘उहाँले कला क्षेत्रमै आफूलाई समर्पित गर्नुभयो । अब फिल्म क्षेत्रलाई दिशा दिने जिम्मेवारी उहाँमा आएको छ । आफ्नो जिम्मेवारी राम्रोसँग बहन होला र तपाईंको कार्यकालमा फिल्म क्षेत्रले केही उपलब्धि हासिल गरोस् ।’

