
यस वर्षको आशातित फिल्म ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । अष्ट्रेलिया निवासी निकेश मानन्धरले फिल्मको राइट्स खरिद गरेका हुन् । बिहीवार राजधानीमा निकेशका प्रतिनिधि महेन्द्र अधिकारी र निर्माताबीच अष्ट्रेलिया राइट्स बिक्रीको सम्झौता पत्र आदान-प्रदान भयो । प्राप्त जानकारी अनुसार, फिल्मको अष्ट्रेलिया राइट्स ८ लाखमा बिक्री भएको हो ।
ट्रेलरबाट एकखालको चर्चा बटुलेको फिल्मको ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीतले विदेशमा राम्रो माग बढाएको छ । कार्यकारी निर्माता रत्न श्रेष्ठले अब अन्य देशहरुमा पनि फिल्मको प्रदर्शन अधिकारी बिक्री गर्ने जानकारी दिए । यो फिल्मले प्रदर्शनभन्दा अगावै लगानीको ठूलो हिस्सा उठाइसकेको छ । फिल्मको डिजिटल राइट्सबाट पनि महंगोमा बिक्री भएको जानकारी प्राप्त छ ।
भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँको अभिनय छ । आरआर फिल्मस् (रोहित रत्न) को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।
पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिव ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिकामा अभिनय गरेका छन् ।

