कोरोना महामारीयताको अवस्था निहाल्दा भारतमा होस् वा नेपालमा, ठूला भनिएका बलिउड फिल्म खासै चलेका छैनन् । कार्तिक आर्यन अभिनीत फिल्म ‘भूल भूलैयाँ २’को प्रदर्शन अघि वा पछि अन्य बलिउड फिल्मले बक्सअफिसमा ठूलो अंक जोड्न सकेनन् । एकपछि अर्को आशातित फिल्म डुबेका डुब्यै छन् । अक्षय कुमारदेखि अजय देवगनसम्मका फिल्म बक्सअफिसमा टाँट पल्टिए ।
कोभिडपछि प्रदर्शनमा आएका ‘आरआरआर, ‘पुष्पा’, ‘केजीएफ २’ जस्ता ठूला साउथ फिल्मले भने भारतमै आक्रामक कमाई गरे । साउथ फिल्म हेरेको दर्शकका आँखाले बलिउड फिल्म मन पराउन छाडेको देखिन्छ । जसले गर्दा यतिखेर बलिउडमा निराशा छाएको अवस्था छ । अहिले बलिउडको आशाको त्यान्द्रो अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’माथि अडिएको छ ।

आमिर खान ‘ठग अफ हिन्दुस्तान’पछि फर्किएकाले ‘लाल सिंह चड्डा’को पखाई भारतसँगै नेपालमा पनि उच्च छ । त्यसैले हुनसक्छ, नेपालका वितरकले फिल्मलाई अहिलेसम्मकै उच्च रकम तिरेका छन् । मनोज राठीको टिमले २ करोड नेपालीमा फिल्मको नेपाल अधिकार किनेको हो । ठूला स्टारका बलिउड फिल्महरु नचलिरहेको अवस्थामा नेपाली वितरकले उठाएको यो ठूलो जोखिम हो ।
‘ठग अफ हिन्दुस्तान’बाहेक आमिरका अन्य फिल्मले घाटा नदिएकाले पनि नेपाली वितरकले यति मोटो रकम तिर्ने हिम्मत गरेको हुनसक्छ । अब ‘लाल सिंह चड्डा’ले नेपाली वितरकलाई २ करोड फिर्ता गर्न ६ करोड कमाउनु पर्नेछ । फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा मात्र यो अंक जोड्न सम्भव छ । अन्यथा, नेपाली वितरकको २ करोड बालुवामा पानी खन्याए झैँ हुनेछ ।
‘लाल सिंह चड्डा’को ‘वर्ड अफ माउथ’ बलियो भए नेपाली वितरकले बोरामा पैसा घर लैजानेमा दुईमत छैन । किनभने, यसअघि आमिरका ‘दंगल’, ‘पिके’, ‘धूम ३’, ‘थ्री इडिएट्स’ले नेपालमा ठूलो व्यापार गरेका उदाहरण छन् । आमिरको फिल्ममा कथावस्तु र प्रस्तुतीकरण बलियो हुन्छ भन्ने विश्वासको आधारमा हलसम्म पुग्ने जमात ठूलो छ । ‘लाल सिंह चड्डा’ ११ अगस्टमा प्रदर्शन हुँदैछ ।

