
भारतले नाकाबन्दी लगाएको समयमा प्रदर्शनमा आएको फिल्म हो, ‘परदेशी’ । पेट्रोलियम पदार्थदेखि खाना पकाउने ग्याससम्मको चर्को अभाव रहेको समयमा पनि फिल्मले ठूलो कमाई गरेको थियो । विशेषगरी फिल्मले उठाएको कथावस्तुलाई आम मानिसले मन पराएका थिए । ७ वर्षपछि यो फिल्मको दोस्रो श्रृंखला ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
‘परदेशी’मा अभिनेता प्रशान्त तामाङ्ग मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा पनि उनी दोहोरिएका छन् । तर, गत महिना सार्वजनिक टिजरमा उनलाई दिइएको स्थान हेर्दा प्रशान्तलाई निर्देशकले अन्याय नै गरेको देखिन्छ । टिजरमा उनी २ सेकेन्ड पनि मुश्किलले देखिन्छन् । यसबाट प्रशान्त स्वयं खुशी छैनन् । दर्शकहरुले पनि प्रशान्तलाई पर्याप्त स्थान नदिएकोमा असन्तुष्टि जनाएका छन् ।
सोमवार फिल्मको पहिलो गीत सार्वजनिक कार्यक्रममा निर्देशक नारायण रायमाझीले प्रशान्तलाई टिजरमा २ सेकेन्ड मात्र स्थान दिनुको कारणबारे स्पष्टिकरण दिँदै भनेका छन्, ‘कुन कलाकारलाई कहाँ राख्ने भन्ने कुरा फिल्मको कथाले मागेको हुन्छ । फिल्ममा उहाँ फौजीको भूमिकामा हुनुहुन्छ । त्यो प्रशान्तको पृष्ठभूमिसँग पनि मिल्छ । अन्यायभन्दा पनि सल्लाह गरेरै त्यसरी राखेका हौं ।’
निर्देशक रायमाझीले परिवार र परदेशमा बस्नेहरुको सबैभन्दा आत्मीयता चाड-पर्वसँग हुने भएकाले ‘परदेशी २’लाई दशैंमा प्रदर्शन गर्न लागिएको पनि जानकारी दिए । ‘चाड-पर्वमा परदेशमा बस्ने र नेपालमा बस्ने परिवारले एकअर्कालाई एकदमै सम्झने गदर्छन् । फिल्मको मूल कथा पनि चाड-पर्वहरुसँग जोडिएको छ । त्यसैले फिल्मलाई दशैंमा प्रदर्शन गर्न उपयुक्त ठानेका हौं,’ उनले भने ।

