Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सनम तेरी कसम’का हिरोलाई भेट्दा जब नेपाली युवतीहरु रुन थाले...

फिल्मीखबर, काठमाडौं, 2022/08/02
harshvardhan rane
 
भारतका कलाकारहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने बुझ्न बलिउड अभिनेता हर्षवर्धन राणेको नेपाल भ्रमण निकाल्दा मात्र पनि पुग्छ । उनी पाँच दिनदेखि काठमाडौंमा छन् । आफ्नो साथीको रिसेप्सन पार्टीमा सहभागी हुन उनी बिहीवार काठमाडौं आएका हुन् । शनिवार पार्टीमा सहभागी हुने क्रममा हर्षवर्धनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य पनि गरेका थिए । 
 
आइतवार उनले बसन्तपुर क्षेत्रको अवलोकन गरे । त्यहाँ उनले नेवारी परिकारको स्वाद लिएका थिए भने उनीसँग फोटो खिच्नेको ताँती नै लागेको थियो । यसैक्रममा, सोमवार लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टले उनीसँग भेटघाट कार्यक्रम राखेको थियो । उनले आफू उक्त रेस्टुरेन्टमा साढे ५ बजे जान लागेको इन्स्टामार्फत् जानकारी गराएपछि ठूलो संख्यामा युवतीहरु जम्मा भएका थिए ।
 
हर्षले इन्स्टामा पोस्ट गरेको एक भिडियोमा उनलाई युवतीहरुले घेरेका छन् । उनीसँग अटोग्राफ लिन र फोटो खिच्न युवतीहरुबीच तछाडमछाड नै चलेको देखिन्छ । उनलाई देखेपछि केही युवतीहरुले आँशु थाम्न पनि सकेका छैनन् । भिडियोमा एक युवती हर्षलाई अंकमाल गर्दा थरथरी कापेको देख्न सकिन्छ । उनले पनि आफ्ना नेपाली फ्यानहरुसँग सेल्फी खिच्दै अघाध प्रेम दर्शाए ।
 
हर्षवर्धनले नेपालमा आफूलाई मिलेको प्रेमप्रति कृतज्ञता व्यक्त गरेका छन् । सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी सम्भवतः पहिलो पटक नेपाल आएका हुन् । रोचक संयोग के जुरेको छ भने उनी नेपाल आउनु र उनी अभिनीत फिल्म ‘सनम तेरी कसम’ नेपालको यूट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा उक्लनु एकैचोटी परेको छ ।