आगामी असोज ७ गते (सेप्टेम्बर २३) बाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ संसारको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ । सोमवार मुम्बईमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा निर्माता सन्तोष सेनले भारतका सिनेमा हलमा प्रदर्शन भएको ८ हप्तापछि अमेजन प्राइम भिडियोमा फिल्म रिलिज हुने जानकारी दिए ।
.jpg)
सोमवार फिल्मको हिन्दी भर्सनको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता प्रदीप खड्कालाई केन्द्रमा राखिएको छ भने अभिनेत्री क्रिस्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, नव-अभिनेता मनिष राउत लगायतलाई पनि स्थान दिइएको छ । पोस्टरमा फिल्मको हिन्दी ट्रेलर सेप्टेम्बर १ तारिखमा रिलिज हुने उल्लेख छ । फिल्मको म्यूजिक राइट्स जी म्यूजिक कम्पनीले किनेको छ ।
पहिला फिल्मलाई भारतमा ‘विश्वजीतम्’ नाममा प्रदर्शन गरिने भनिएको थियो । तर, अब भारतमा पनि ‘प्रेमगीत ३’ नाममै प्रदर्शन हुने भएको छ । यसबारेमा सेनले भने, ‘गुगल सर्चमा सर्वाधिक धेरै ‘प्रेमगीत ३’ आयो । ‘विश्वजीतम्’ नै ‘प्रेमगीत ३’ भनेर चिनाउन समय लाग्ने भएपछि हामीले नाम परिवर्तन नगरेका हौं । फिल्मलाई भारतमा बस्ने नेपालीहरुले मात्र हेरिदिए पनि सुपरहिट हुन्छ ।’
भारतीय पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा प्रदीपले ‘प्रेमगीत ३’ भारतमा रिलिज हुन लाग्दा आफूले नयाँ जन्म पाएको महशुस गरेको बताएका छन् । उनले भने, ‘मलाई यो मेरो नयाँ जन्म जस्तो लागेको छ । नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै मैले नयाँ संसारमा प्रवेश गर्ने मौका पाएको छु । ५० वर्षको इतिहासमा पहिलो पटक नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन हुँदैछ ।’
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्ममा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतको पनि अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् । लकडाउनमा फिल्मलाई हिन्दीमा डब गरिएको थियो ।

